सार्क सम्मेलनअघिको राजनीतिक उपलब्धी, संवादहीनता फुकाउन तीन दल सहमत, आज संवाद समितिको बैठक


?????????????????????????????????????????????????????????संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको संवादहीनता र राजनीतिक गतिरोधलाई फुकाउन प्रमुख तीन दल सकारात्मक देखिएका छन् । प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफलपछि गतिरोध अन्त्यका लागि आज नै समितिको बैठक बोलाउन सहमत भएका हुन् । प्रस्तावित नयाँ संविधानका अन्तरवस्तुमा प्रमुख तीन दलबीच सहमति कायम हुन नसकेपछि नेपाली काँग्रेस, नेकपा (एमाले) सहितका राजनीतिक दलले सात प्रदेशसहितको अवधारणा प्रस्तुत गरेसँगै मुलुकको राजनीति तातेको थियो । उक्त प्रस्तावले एमाओवादीसहितका प्रतिपक्ष दलहरूले सहमतिको मार्गमा अवरोध सिर्जना गरको आरोप लगाउँदै आएका छन् भने सत्तापक्षले त्यसको बचाउ गर्दै संविधान लेखनको लागि प्रस्तावले मार्गप्रशस्त गरको धारणा राख्दै आएका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा प्रवेश पाइसकेको उक्त प्रस्तावलाई संविधानसभामा पठाउन नेपाली काँग्रेस र एमालेले समितिका सभापति डा बाबुराम भट्टराईलाई लिखित पत्र बुझाइसकेका छन् भने प्रतिपक्षी दलहरूले त्यसो गर्दा सहमतिको राजनीतिलाई बिथोल्ने र कानुन सम्मतसमेत नहुने जिकिर गर्दै आएका छन् । त्यसले संविधान लेखनमा बाधा पुगेको छ भने दलहरूबीच संवादहीनता र गतिरोध उत्पन्न भएको छ । बैठकमा संवादहीनतालाई अन्त्य गर्नुपर्छ, संविधान लेखनको प्रक्रियामा देखिएको गतिरोध हटाउनु पर्छ, त्यसका लागि प्रमुख दलहरूबीच कम्तिमा पनि संविधानका मुलभूत विषयमा सहमति हुनुपर्छ भनेर सौहाद्र्ररूपमा छलफल गर्नुभएको थियो । दलहरूबीच खासगरी सङ्घीयता, प्रदेशको सङ्ख्या, शासकीयस्वरूप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा मतैक्यता हुन सकेको छैन । छलफलका बारेमा राखिएको जिज्ञासामा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अहिलेको गतिरोधलाई अन्त्य गर्न ठोस र सकारात्मक ढङ्गबाट अघि बढ्नुपर्ने भएकाले त्यसका लागि भोलिसम्ममा समितिको बैठक बस्नेमा आफू आशावादी रहेको जानकारी दिनुभयो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष एवम् गृहमन्त्री बामदेव गौतम, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा भट्टराई, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला छलफलमा सहभागी हुनुहुन्थो । सम्मेलनअघि डा. भट्टराईले बालुवाटारमा फेरि बालुवा पेलेर तेल निकाल्ने कसरत हुनलागेको भन्दै फेसबुकमा पोष्ट गर्नुभएको थियो ।
प्रधानमन्त्री र एमाओवादी अध्यक्षबीच छुट्टै भेटवार्ता
प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलनलाई भव्य र सभ्य बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा शिखर सम्मेलन मुलुकको प्रतिष्ठासँग जोडिएकाले सबै पक्षले सफल बनाउन लाग्नुपर्ने र कुनै पनि कमजोरी हुन नदिने विषयमा कुराकानी भएको थियो । क्षेत्रीय तहमा नेपालको राजनीतिक उपलब्धिलाई प्रचार–प्रसार गर्ने सुवर्ण अवसरको रुपमा सार्क सम्मेलनलाई लिनुपर्ने र राष्ट्रिय पर्वको रुपमा सम्पन्न गर्नुपर्नेमा सो अवसरमा दुवै शीर्ष नेता सहमत हुनुभएको थियो । सार्क सम्मेलन पार्टी विशेषको विषय नभएको र राष्ट्रिय विषय भएकाले यसलाई सफल बनाउनु सबैको दायित्व रहेको भन्दै प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सहमत हुनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो । यस्तै संविधान निर्माणमा देखिएका विवादित विषयमा समेत प्रमुख दलबीच साझा अवधारणा बनाएर अगाडि बढ्ने र सहमतिमा नै सबै विषयलाई टुङ्गो लगाउने सन्दर्भमा समेत सो अवसरमा कुराकानी भएको थियो । संविधान लेखनको क्रममा फरक–फरक राजनीतिक विचार र चिन्तन भएका कारण विवाद हुनु सामान्य विषय भएपनि सबैले अपनत्व गर्ने संविधान बनाउन मिलेर जानुको विकल्प नभएको सो अवसरमा विचार विमर्श भएको थियो । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली राजधानी बाहिर रहनु भएका कारण उहाँ फर्केपछि तीन दलको बैठक बोलाउने र विवादित विषयमा सहमति जुटाइने उहाँहरूबीच कुराकानी भएको थियो । दलहरूबीच बढेको दूरीलाई कम गर्ने र मिलेर जाने विषयमा सरकार प्रमुख र प्रतिपक्षी दलका नेता सहमत हुनु भएकाले विवादित विषयमा सहमति जुट्ने विश्वास लिइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?