विवाहपञ्चमी महोत्सव सुरु, रामको जन्ती जनकपुरमा


janakimandir-Janakpur1नेपाल भारतको साँस्कृतिक सम्बन्धको ठूलो नमुनाका रूपमा रहेको रामजानकी विवाहका क्रममा भारतको अयोध्याबाट हिँडेको जन्ती जनकपुर आइपुगेको छ । महोत्तरीको पिपरामा जन्तीलाई दिउँसोको खानाको व्यवस्था गरिएको थियो । जनकपुरमा जन्ती आउँदा विभिन्न गाउँमा साधुसन्तको अगुवाइमा स्थानीयवासीले फूलमालाले स्वागत गरेका थिए । प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जन्ती जनकपुर आउने गरेको छ । जन्तीका संयोजक एवम् विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री राजेन्द्रसिंह पङ्कजका अनुसार नेपाल भारतबीचमा सदियौँ पुरानो सम्बनध रहेको र अहिले आएर जन्तीले त्रेतायुगको सम्झना गराएको बताउनुभयो । जन्ती जनकपुर आगमनसँगै सातदिने विवाह पञ्चमी महोत्सव सुरु भएको छ । यस क्षेत्रको सबैभन्दा ठूलो मेलाका रूपमा रहेको महोत्सवका लागि जनकपुरको जानकी मन्दिर तथा राम मन्दिरलाई सजाइएको छ । मेलाको समापन यही मङ्सिर १२ गते हुने छ । अहिले नगरका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ भने स्थानीयस्तरबाट विभिन्न सङ्घसङ्गठनले सरसरफाइसमेत गरेका छन् । जनकपुरमा अहिले साधुसन्त आउने क्रम बढेको छ । भारतबाट आएको जन्तीमा दिगम्बर अखडाकाका महन्थ सुरेश दासको नेतृत्वमा करिब एक हजार दुई सय साधुसन्त समावेश छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?