भारतबाट २० हजार फिट माथि उड्नसक्ने हेलिकोप्टर सहयोग, एयर टु एयर मार हान्न सक्ने


helicopterनेपाली सेनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपाली सेनालाई प्रदान गरिएको हेलिकोप्टरका विषयमा एक प्रेस वक्तव्य जारी गरी जानकारी दिएको छ । सैनिक जनसम्पर्क समितिले प्रेषित गरेको प्रेस नोट यस्तो छ,
१८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन आउनु भएका मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यूले आज मिति २०७१ मंसिर ९ गते सैनिक मञ्च टुंडिखेलमा आयोजित एक विशेष समारोहमा भारत सरकारको तर्फबाट नेपाली सेनालाई १ वटा हेलिकप्टर हस्तान्तरण गर्नु भएको छ । सैनिक मञ्च टुंडिखेलमा आयोजित एक विशेष समारोहका बीच भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री तथा रक्षामन्त्री श्री सुशिल कोईरालालाई Advanced Light Helicopter (ALH) Mark III Dhruv हस्तान्तरण गर्नु भएको छ । Bilateral Consultative Group Meeting मा सहमति भएनुसार भारत सरकारले उक्त हेलिकप्टर प्रदान गरेको हो । भारतीय कम्पनी Hindustan Aeronautics Limited  द्धारा निर्माण गरिएको २ चालक दलका सदस्य तथा १४ सिट क्षमता भएकोMark III Dhruv Advanced Light (ALH) ले आफ्नो परिक्षण उडान सन् १९९२ मा गरेको थियो भने सन् २०१२ देखि भारतीय सेनामा प्रयोगमा आई रहेको छ । अत्याधुनिक Aeronautics प्रविधि, Avionics / Safety Design  भएको उक्त हेलिकप्टरले २०,००० फिट भन्दा माथिको उचाईमा समेत सुरक्षित साथ उडान गर्न सक्ने क्षमता राख्दछ । यस मोडलको २ वटा हेलिकप्टर विगतमा सम्पन्न भएको संविधानसभा निर्वाचनमा भारतबाट ल्याई प्रयोग पश्चात पुनः भारतलाई फिर्ता गरिएको थियो । सैनिक मञ्च टुंडिखेलमा आयोजित उक्त बिशेष कार्यक्रममा मन्त्रीगण, भारतीय विदेशमन्त्री लगायत भारतीय उच्च पदस्थ अधिकारीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरु, बहालवाला तथा अवकास प्राप्त रथीबृन्द तथा अधिकृत लगायत अन्यदर्जा र उल्लेख्य संख्यामा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो । नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप भारत सरकारबाट नेपाली सेनालाई तालिम लगायत भौतिक सहयोग प्राप्त भईरहेको परिप्रेक्ष्यमा यस सहयोगले नेपाली सेनाको अपरेशनल क्षमता अभिबृद्धि हुनुको साथै मानवीय र प्रकोप राहत सहयोग कार्यमा समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?