जलवायु परिवर्तले निम्त्याएको समस्या समाधानका लागि सामूहिक प्रतिबद्धता– तोक्बे
दक्षिण एसियामा जलवायु परिवर्तनका कारण परेको समस्यालाई हल गर्नका लागि सबै मुलुकको सामूहिक प्रतिबद्धता र एकीकृत योजनाको आवश्यकता रहेकामा भुटानले जोड दिएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को १८औँ शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भुटानका प्रधानमन्त्री छिरिङ तोक्बोले सामूहिक प्रयासबाट मात्रै जलवायु परिवर्तनले पारेको समस्यालाई समाधान गर्न सकिने बताउनुभएको हो । सार्क क्षेत्रको शान्ति र स्थायित्वका लागि यसका सदस्य राष्ट्रले आपसी हित र चासोलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले एकलरुपमा अगाडि बढेमा कहीँ पनि नपुगिने र सामूहिकरुपमा अगाडि बढे धेरै उपलब्धि हासिल हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नो मुलुकले ६० प्रतिशतभन्दा बढी वन जङ्गलको संरक्षण गरेका कारण कार्बन उत्सर्जनका कारण देखिएको समस्या हल गर्न सक्षम रहेको धारणा राख्दै प्रधानमन्त्री तोक्बेले अरु मुलुकलाई पनि सोही खालको प्रणाली विकास गर्न आग्रह गर्नुभयो । विश्व तापमानमा भएको वृद्धिका कारण हिमाली क्षेत्रमा कम हिउँ परेको, हिमनदी पग्लदै गएको र त्यसले यस क्षेत्रमा थप सङ्कट निम्त्याउनेतर्फ सचेत गराउनुभयो । बाढीपहिरोमा वृद्धि हुनु, बर्सेनि भूस्खलको समस्यामा वृद्धि हुनुका पछाडि वातावरणीय समस्या र जलवायु परिवर्तनको असर नै प्रमुख कारक रहेको उहाँको भनाइ थियो । वातावरणीय व्वस्थापनका लागि सामूहिक प्रतिबद्धताको जरुरत रहेकामा पटक–पटक जोड दिँदै उहाँले गरिबी न्यूनीकरणका लागि पनि उक्त प्रयासले बल पुग्नेमा जोड दिनुभयो । दक्षिण एसिया मानवीय र वातावरणीय स्रोतमा धनी रहेकाले यसैलाई प्रयोग गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । विगत लामो समयदेखि सार्कमा गरिबी निवारणका लागि प्रयास गरिए पनि हालसम्म पूर्णता पाउन नसकेको र त्यसका लागि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्री तोक्बेले १८औँ शिखर सम्मेलनले त्यसमा थप बल पु¥याउनेछ, भन्नुभयो । आफ्नो नेतृत्वको सरकारले गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउन विशेष कार्यक्रम अगाडि सारेको जानकारी गराउँदै उहाँले आपसी सहयोगको अभिवृद्धि र सहकार्यलाई व्यवहारिकरुपमा आत्मसात् गर्न सबै सदस्य राष्ट्रलाई आग्रह गर्नुभयो । सार्क क्षेत्रको समृद्धिका लागि एकीकृत योजनाको जरुरत रहेको भन्दै प्रधानमन्त्री तोक्बेले अन्तर्राष्ट्रियरुपमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न आफ्नो मुलुक तत्पर रहेको विश्वास दिलाउनुभयो । सीमापार आतङ्कवादका साथै मानव बेचबिखन पनि यस क्षेत्रको साझा समस्या र अर्को कलङ्कका रुपमा देखिएकाले त्यसलाई नियन्त्रणका लागि साझा प्रयत्न र प्रतिबद्धताको जरुरत रहेको उहाँको कथन थियो । आतङ्कवादले आर्थिक उन्नति र प्रगतिमा समस्या निम्त्याएकाले त्यसलाई नियन्त्रण गर्न सबैले मिलेर काम गर्नुपर्ने प्रधानमन्त्री तोक्बेको भनाइ थियो । हरेक वर्ष आयोजना हुँदै आएको सार्क गृह मन्त्रिस्तरीय बैठकले आतङ्कवाद नियन्त्रण, सीमापार आतङ्कवाद र मानव बेचबिखनलाई नियन्त्रण गर्ने प्रयत्न गरेको उल्लेख गर्दै उहाँले उक्त समस्या समाधानका लागि थप लगावको आवश्यकता रहेको धारणा राख्नुभयो । एकअर्का मुलुकमा भौतिक सम्पर्क स्थापित गर्न, सूचना आदानप्रदान गर्न र साझा चासो र आपसी हितमा सामूहिक प्रतिबद्धता तथा व्यावहारिक कार्यान्वयनको जरुरत रहेकामा उहाँले जोड दिनुभयो । उहाँले सार्क सम्मेलको भव्य र सभ्यरुपमा आयोजना गरेकामा प्रधानमन्त्री सुशील कोइराला र नेपाली जनतालाई धन्यवादसमेत दिनुभयो ।