साझा समस्या समाधानका लागि सामूहिक प्रयत्न जरुरी – सार्क महासचिव अर्जुनबहादुर थापा
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)लाई आगामी दिन अझै भरपर्दो र विश्वसनीय बनाउन साझा प्रयत्नको जरुरत रहेकामा जोड दिइएको छ । सार्कका महासचिव अर्जुनबहादुर थापाले १८औँ शिखर सम्मेलनले यस क्षेत्रको उन्नति र प्रगतिका लागि ठोस कार्यक्रम र योजना अगाडि सार्ने विश्वास व्यक्त गर्नुुभयो । सम्मेलनमा महासचिवका तर्फबाट मन्तव्य दिँदै उहाँले भौतिक सम्पर्क, यातायात सञ्जालको विकास र विस्तार, गरिबी न्यूनीकरण, एचआइभी एड्स, सीमापार आतकङ्वाद, हातहतियारको ओसारपसार, लैङ्गिक असमानता, खाद्य सुरक्षा, पोषण समस्या समाधानका लागि साझा प्रयत्न र प्रयासको थालनी हुने विश्वास व्यक्त गर्नुभयो । आर्थिक विकास र समृद्धिका लागि सामूहिक प्रयत्न र प्रतिबद्धताको जरुरत रहेकामा जोड दिँदै उहाँले यातायात सञ्जाल, रेल, सडक सम्पर्क, ऊर्जा विकासका लागिसमेत संयुक्त प्रयास हुनुपर्ने बताउनुभयो । सहस्राब्दी विकास लक्ष्यले निर्दिष्ट गरेका कार्यक्रमको कार्यान्वयन र सन् २०१५ पछिको रणनीतिक योजना तय गर्न पनि सार्कले प्रभावकारी भूमिका खेल्नुपर्ने र ती कार्यक्रम तय गर्दा आपसी विश्वास र सहकार्यलाई केन्द्रबिन्दुमा राख्नुपर्ने महासचिव थापाको भनाइ थियो । आर्थिक उन्नति र प्रगतिका लागि अन्तर्राष्ट्रिय साझेदार खास गरी एसियाली विकास बैंकसँग काम गरिराखिएको दृष्टान्त पेस गर्दै उहाँले व्यापारको अभिवृद्धि र गरिबी न्यूनीकरणका लागि धेरै काम गर्न बाँकी रहेको धारणा राख्नुभयो । सार्क क्षेत्रलाई अगाडि बढाउन साझा आर्थिक कार्यक्रम र सार्क विकास बैंक जस्ता संस्थाको जरुरत रहेको र साफ्टाको कार्यान्वयन पनि अर्को महत्वपूर्ण मुद्दा रहेको उहाँले उल्लेख गर्नुभयो । खाद्य सुरक्षाका लागि स्थापना गरिएको सार्क खाद्य भण्डार, सार्क बीउबिजन बैंकजस्ता संस्थालाई आगामी दिन थप प्रभावकारी र कार्यकारी बनाउनुपर्ने महासचिव थापाको कथन थियो । यस क्षेत्रका नागरिकको जीवनस्तर सुधारका लागि पनि गरिबी न्यूनीकरण जरुरत रहेकामा जोड दिँदै महासचिव थापाले ऊर्जा, सडक सञ्जाललगायतका एजेन्डामा सदस्य मुलुकबीच आपसी समझदारी हुने विश्वास व्यक्त गर्नुभयो । सार्क मुलुकबीच छाता संयन्त्रका रुपमा काम गरिरहेका निकाय तथा संस्थालाई आगामी दिनमा थप प्रभावकारी र कर्तव्यमुखी बनाउनुपर्ने उहाँको कथन थियो । सत्रौँ शिखर सम्मेलनपछि विभिन्न १९ वटा मन्त्रिस्तरीय बैठक बसेको र २०० पटकभन्दा बढी विज्ञ समूहको छलफल भएको तथ्याङ्क पेस गर्दै उहाँले सफल कार्यकाल र अध्यक्षताका लागि माल्दिभ्सका राष्ट्रपतिलाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।