आठ देशका कार्यकारी प्रमुखहरु सहभागी बनेको सार्क सम्मेलनको सभाहल र बाहिर यस्तो देखियो
सार्क शिखर सम्मेलनस्थल बाहिर पानीको सुन्दर फोहरा, आठै सदस्य राष्ट्रका रङ्गीचङ्गी ठूला–ठूला झण्डाहरू फहराइरहेका दृश्यले सम्मेलन स्थल अत्यन्तै सुन्दर र मनमोहक देखिन्थ्यो । चिटिक्क सिङ्गारिएको सभाहल, बिहान नौ बजेदेखि सार्क राष्ट्र वा सरकार प्रमुखका आठ सदस्य राष्ट्रका अतिथिहरू र नेपालका मन्त्रीगण तथा कुटनीतिक नियोगका प्रतिधिलगायतको उपस्थितिले खचाखच भरिएको सार्क सम्मेलन हलको रौनकता निकै उत्साहजनक देखिन्थ्यो । सम्मेलन हलभित्र सार्क राष्ट्रका विदेश मन्त्रीहरू एकै स्थानमा बस्नुभएको थियो भने सम्मेलनको प्रारम्भ नेपालको राष्ट्रिय गानबाट भयो । त्यसपछि सामुहिक तस्बिर खिचियो । सम्मेलनमा आउने सात राष्ट्रध्यक्ष÷सरकारप्रमुखलाई नेपालका प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्नुभयो । विशिष्ट पाहुनाहरूले सम्मेलनका क्रममा देखाएको स्वागत तथा आतित्थ्य सत्कारको खुलेर प्रशङ्सा गर्नुभयो । सबैको एउटै आवाज थियो, ‘नेपालको सुन्दर राजधानी काठमाडौँको आतिथ्य सत्कार पाएको आभार प्रकट गर्दछु ।’ सार्क राष्ट्र तथा पर्यवेक्षक राष्ट्रका विविध पहिरन र भेषभूषाले पनि हलको सौन्दर्यतालाई थप आकर्षक बनाएको थियो । सार्कको अध्यक्ष गर्नुभएका माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गयिमले केही मिनेट सम्बोधन गरेपछि ठीक ९ः३२ बजे नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सार्क शिखर सम्मेलनको औपचारिक उद्घटन गर्नुभयो । करिब १७ मिनेटको उद्घाटन मन्तव्य टुङ्ग्याउने बेलामा उहाँले मुसुक्क हाँदै भन्नुभयो, “जय सार्कः जय नेपाल ।” उद्घाटनपछि माल्दिभ्सका राष्ट्रपतिले सार्कको अध्यक्षको जिम्मेवारी नेपालका प्रधानमन्त्री सुुशील कोइरालालाई विधिवत्रुपमा हस्तान्तरण गर्नुभयो । सार्कका सबै राष्ट्र वा सरकार प्रखुखहरूले दक्षिण एसियाको अथाह सम्भाव्यता, शान्ति, सम्बृद्धि, ती राष्ट्रका अनुपम् प्राकृतिक विविधता, विश्वको अग्लो हिमशिखर सगरमाथादेखि सामुद्रिक किनारको विविधता रहेको चर्चा गर्नुभयो ।
सार्कको १८ औँ शिखर सम्मेलन कक्ष राष्ट्रिय सभागृह परिसरको दृश्य झनै रोमान्चक देखिन्थ्यो । पानीले पखालिएको चिल्ला र सफा सडक तथा सडक किनारका हरिया विरुवा विकसित मुलुकको सडकलाई बिर्साउने देखिन्थ्ये । सडकका ठाउँ–ठाउँमा सुरक्षाकर्मीको झुण्ड, माथितिर आकाशमा नेपाली सेनाको हेलिकोप्टरको हवाई गस्तीको दृश्यले सडक किनारमा बाक्लो सङ्ख्यामा आवत–जावत गरिरहेका सर्वसाधारणले उत्सुकताकासाथ आनन्द लिइरहेका थिए । सभा हलको उत्तरतर्फको पुराने बसपार्क र दक्षिणतर्फको भृकुटीमण्डप परिसरमा पाहुनाहरूको गाडी पार्किङको दृश्य पनि कम रोचक थिएन । सुनसान सडकमा विशिष्ट सवारीको दृश्यले सबैलाई ध्यान केन्द्रित ग¥योे । काठमाडौँको, तीनकुने, नयाँबानेश्वर, माइतीघर, त्रिपुरेश्वर, कालीमाटीदेखि सोल्टी होटल, रत्नपार्क वरिपरि, पुतलीसडक, सिंहदरबार भद्रकाली परिसरको सडक सुनसान थियो । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका थिए । सम्मेलन आसपास, आतिथि आउने सबै स्थानमा आकासे पुलहरूमा सुरक्षाकर्मीले सुरक्षा पहरा दिइरहेका थिए । सडकमा हुलका हुल सर्वसाधारण मात्र आवत–जावत गरिहेका थिए ।