सार्क शिखर सम्मेलन अत्यन्त सफल भएको परराष्ट्रमन्त्री पाण्डेको भनाई, सम्पन्न गर्न सफल पार्नेहरुलाई धन्यवाद ज्ञापन
परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलनमार्फत बहुपक्षीय कूटनीतिलाई प्रस्तुत गर्ने अवसरको सदुपयोग गर्न सफल भएको जनाएको छ । ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ यही मङ्सिर १० र ११ गते सार्कको १८औँ शिखर सम्मेलन ३६ बुँदे काठमाडाँै घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले सम्मेलनका अवसरमा यस क्षेत्रका नेताबीचमा अझ नजिकबाट घुलमिल हुने र एकार्कालाई बुझ्ने अवसर मिलेको जनाएको छ । शिखर सम्मेलनका लागि नेपालले तय गरेको नारालाई सबै सदस्य राष्ट्रबाट प्रशंसा भएको तथा राष्ट्राध्यक्ष÷सरकार प्रमुखबाट त्यसैको वरिपरि रही मन्तव्य व्यक्त हुनाले नारा छनोटमा बुद्धिमतालाई पुष्टि गरेको मन्त्रालयको जिकिर छ । परराष्ट्रसहितका सरोकार भएका मन्त्रालय, कूटनीतिक नियोग, राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारजगत्, होटल व्यवसायी एवम् नेपाली जनताको सहयोग र सद्भावबाट शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जनाउँदै मन्त्रालयले सम्मेलनलाई सहयोग पु¥याउने सबै पक्षलाई धन्यवाद एवम् आभार व्यक्त गरेको छ । सो अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मुलुकमा गणतन्त्र संस्थागत भइनसकेको र सङ्क्रमण कायम रहेको अवस्थामा पनि सार्क शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर नेपालले आफ्नो क्षमताको पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैको विवेक, वुद्धि र क्षमतलाई सामूहिक रूपमा उपयोग गरेर काम गरियो भने सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण सार्क शिखर सम्मेलनले सिकाएको छ, सम्मेलन अत्यन्त सफल भएको छ ।” सार्क सम्मेलनले तय गरेका विषयवस्तु र घोषणापत्रलाई प्रत्येक सदस्य राष्ट्रले आफ्नो राष्ट्रिय कार्यक्रम बनाएर विधिवत् रूपमा कार्यान्वयनमा लानुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री पाण्डेले सदस्य राष्ट्रका कतिपय ऐन र कानुनका अप्ठ्यारोका कारणले सडक र रेलसम्बन्धी विषयमा सहमतिमा पुग्न नसकेको भए पनि तीन महिनाभित्रै ती सबै प्रक्रियालाई पूरा गरेर आगामी सार्क मन्त्रिपरिषद्को बैठकले त्यसलाई अगाडि बढाउने बताउनुभयो । काठमाडाँै घोषणापत्र तयार गर्दा युवाका लागि रोजगारी, महिला बालबालिकाको हकहित, शिक्षाको गुणस्तर र विविधीकरणका बारेमा ध्यान दिइएको बताउँदै मन्त्री पाण्डेले सहकारीमार्फत विकासमा जोड विषयमा सदस्य राष्ट्रबीचमा एकमत रहेको जानकारी दिनुभयो । मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले शिखर सम्मेलनका लागि नेपालले गरेको तयारी र व्यवस्थापनलाई विशिष्ट पाहुनाले प्रशंसा गरेको बताउनुभयो ।