सार्कपछि पनि ‘हरियाली काठमाडाँै’ अभियान जारी रहने, रत्नपार्क प्रवेश गर्न शुल्क लगाइने
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलन सकिएपछि पनि काठमाडौँ महानगरपालिकाले ‘हरियाली काठमाडाँै’ अभियानलाई जारी राख्ने भएको छ । ‘हरियाली काठमाडाँै’ अभियानलाई जारी राख्न महानगरपालिकाले सार्कको अवसरमा सडकका दायाँबायाँ रोपिएका कपुर, जापानी चेरी (आरू फूल) फूल, धूपीसल्ला, असारे फूल, पैयूँजस्ता रूख–बिरुवालाई संरक्षण गर्न दैनिकजसो मलजल गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । सार्कको अवसरमा महानगरपालिकाले रु नौ लाख मूल्यका ५०० गमला, १० लाखका झन्डै दुई हजार साना÷ठूला रूख बिरुवा र रु १३ लाखका ४७५ वटा रूख अडाउने बार (ट्रि गार्ड) पनि राखेको छ । पहिलेपहिले सडकमा राखिएका गमला र फोहोर फाल्ने भाँडो (डस्टविन) चोरी भएता पनि सार्क सुरु भएदेखि अहिलेसम्म कुनै पनि स्थानबाट एउटा पनि गमला वा फूल चोरी नभएको महानगरपालिकाले जनाएको छ । तर अबका दिनमा चोरी भएको खण्डमा चोरी गर्नेलाई नेपाल प्रहरीलाई जिम्मा लगाएर चोरी ऐनअनुसार कारबाही गरिने महानगरपालिकाको भनाइ छ । महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेलले महानगरपालिकालाई सधैँ स्वच्छ र सुन्दर राख्ने कार्य महानगरपालिकाको भएको हुँदा सार्कपछि पनि हरियाली काठमाडाँै अभियानलाई निरन्तरता दिँदै नियमित सरसफाइ गर्ने बताउनुभयो । सार्कको समयमा महानगरपालिका र अन्य निकायले समेत नयाँनयाँ रूख–बिरुवा र फूल रोप्ने काम गरेका कारण हरियाली काठमाडाँैको अभियानले सार्थकता पाएको छ । महानगरपालिकाले रत्नपार्क, टुँडिखेल र कान्तिपथमा निजी क्षेत्र, तिनकुनेमा काठमाडौँ उपत्यका विकास प्राधिकरण, वायुसेवा निगम अगाडि नबिल बैंक र सोल्टीमोडमा लिङ्कन कलेजका विद्यार्थीले नयाँ रूख÷बिरुवा रोप्ने कार्य गरेका हुन् । महानगरपालिकाले सार्कको तयारीसँगै आफ्नो नियमित कार्यका रूपमा यो अभियान सञ्चालन गर्दै आएको थियो । पुनःसंरचनाको क्रममा रहेको खुल्लामञ्च फुटपाथ पसलको लागि नभएर सामूहिक प्रयोगका लागि केही महिनामै खुल्ला गरिने महानरपालिकाको भनाइ छ । त्यसैगरी पुनःसंरचनाकै क्रममा रहेको रत्नपार्कमा सर्वसाधारणलाई प्रवेशका लागि न्यूनतम शुल्कको व्यवस्था गर्ने तयारीमा महानगरपालिका रहेको छ । राष्ट्रिय सभागृहको सवालमा काठमाडौँ महानगरपालिकाका वातावरण तथा प्रसासन प्रमुखसमेत रहनुभएका पोखरेलले भन्नुभयो, “सरकारले सभागृहलाई पहिलेको भन्दा लगानी बढाएर पुनःसंरचना गरेको छ, त्यसको सञ्चालनको बारेमा सरकारले महानगरपालिकालाई जिम्मा दिएपछि मात्र त्यहीअनुसार अगाडि बढ्नुपर्छ ।” सार्क सम्मेलनका अवसरमा काठमाडौँ आउने पाहुनालाई महानगरको सुन्दरता र मौलिकता अनुभूत गराउने तथा वातावरणीय ह्रासलाई सुधार गर्ने उद्देश्यले काठमाडौँ महानगरका ३५ वटै वडा क्षेत्रमा विशेष सरसफाइ गरिएको थियो । महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख हरि कँुवरले गैरकानुनीरूपमा फोहोर फाल्ने, विज्ञापन तथा प्रचार सामग्री टाँसेर सहरी सुन्दरता बिगार्ने, सानातिना किराना पसल, खाजा घर, सवारी साधन खरिद बिक्री गर्ने सङ्घसंस्था, शैक्षिक परामर्शदाता, अस्पताल तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने आयोजक, फलफूल तथा जुसका व्यापारीलाई कारबाही गरिएको जानकारी दिनुभयो । महानगरपालिकाका अनुसार साउन महिनादेखि अहिलेसम्म करिब ३५० भन्दा बढी व्यक्ति तथा संस्था कारबाहीमा परेका छन् भने करिब रु पाँच लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ । काठमाडौँ देशको राजधानी हुनुका साथै पर्यटकीयस्थल र विश्व सम्पदा सूचीमा रहेका विभिन्न स्थल यस क्षेत्रमा रहेकाले यस्ता सम्पदा क्षेत्रको संरक्षण, सम्बद्र्धन गरी सहरी सौन्दर्यलाई विकास गर्न महानगरपालिकाले आग्रह गर्दै आएको छ ।