काँग्रेस उपसभापति स्वदेश फिर्ता, संवाद समितिमा प्रस्ताव अड्काउनु गलत भएको भनाई
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले छोटो प्रक्रियाबाट पनि निर्धारित समयमै संविधान ल्याउन सकिने बताउनुभएको छ । तर त्यसका लागि सहमतिका नाउँमा समय खेर फाल्न नहुने उपसभापति पौडेलले बताउनुभयो । नेपाली काँग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको अमेरिकाको टेक्सासमा भएको अधिवेशनमा सहभागी भएर आज स्वदेश फर्कनुभएका उपसभापति पौडेलले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सहमतिको नाउँमा संविधान नबनाउने काम नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभयो । सहमतिका लागि काँग्रेस र नेकपा (एमाले)ले अघि सारेको प्रस्ताव संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा अड्काएर राख्न नहुनेमा उहाँले जोड दिनुभयो । सहमतिका लागि आएको काँग्रेस (एमाले)को प्रस्ताव संविधानसभामा लैजाँदा छलफल गर्ने मौका हुने र त्यहाँ सबैको धारणा सुन्दै सहमतिका लागि पनि वातावरण बनाउँदै जान सकिने धारणा राख्नुभयो । “तर संवाद समितिमा प्रस्ताव अड्काएर राख्नु भनेको हलो अड्काएर गोरु चुट्ने काम जस्तो भयो, यो गर्न पाइँदैन”, उपसभापति पौडेलले भन्नुभयो । उपसभापति पौडेलले संविधानसभाबाट संविधान बनाउने भनिसकेपछि नेतानेता मिलेरमात्र संविधान निर्माणको कामलाई अड्काउन नहुने धारणा राख्दै लोकतन्त्रलाई सहजरूपमा अघि बढ्न नदिने खेल पनि भइरहेको बताउनुभयो ।