विदेशी कार्यालयमा आक्रमण पाँचको मृत्यु, तीन घण्टासम्म आक्रमणकारीले लिए कब्जामा, काबुल प्रहरी प्रमुखले दिए राजीनामा
अफगानिस्तानको राजधानी काबुलमा शनिबार साँझ विदेशी कार्यालयमा तालिवानहरुले गरेको भीषण आक्रमणमा पाँच व्यक्तिको मृत्यु भएको छ । सहयोग निकाय कार्यालयमा भएको यस आक्रमण्मा अन्य कयौ व्यक्ति घाइते भएका पनि जनाइएको छ । आतङ्ककारी आक्रमण भएको सो परिसरबाट प्रहरीले दुई विदेशी र अन्य थुप्रै अफगान नागरिकलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । पश्चिमी काबुलको कार्ट¬¬¬¬¬¬–इ–सेएमा रहेको विदेशी कार्यालयअवस्थित दुई तले भवनमा स्थानीय समयाअनुसार शनिबार अपरान्ह् ४ बजेबाट तीन घण्टासम्म आक्रमणकारीले कब्जामा लिएको बताइएको छ । सो आक्रमणको तालिवानहरुले जिम्मेवारी लिएका छन् । उनीहरुले हालैका दिनमा राजधानी काबुलमा नै हमला गरिरहेका छन् । गत दुई हप्तायता तालिावान आतङ्ककारी समूहले ११ वटा आत्मघाती आक्रमण गरेका र त्यसबाट १० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको करिब १०० घाइते भएका छन् । यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किने निर्णय गरिसकेका छन् । आगामी महिना सो सैनिक फर्किने समय नजिकिँदै गर्दा तालिवानहरुको आक्रमणमा पनि वृद्धि भएको छ । यसैबीच, काबुल प्रहरी प्रमुखले आइतबार राजिनामा दिनु भएको समाचार छ । उक्त जानकारी प्रहरी प्रवक्ताले दिनुभएको छ । गत दुईहप्तायता अफगानिस्तानको राजधानी काबुलमा कम्तीमा नौ वटा आतङ्ककारी भएपछि त्यहाँका प्रहरी प्रमुखले राजिनामा दिनुभएको जनाइएको छ । जनरल जाहिर जाहिरले अफगान गृह मन्त्रालयमा आफूले अव प्रहरी प्रमुखको कार्यभारलाई निरन्तरता नदिने बताउनुभएको छ । अफगान गृह मन्त्रीले उहाँको राजिनामा स्विकार गर्नु भएको प्रवक्ता हसमात स्तानाक्जाईले बताउनु भएको छ ।