संविधानका विवादित विषयमा एमाले र मधेसी मोर्चाबीच छलफल, मधेशी सरकारमा नजाने
संविधानका विवादित विषयमा सहमति जुटाउन आज नेकपा (एमाले) र मधेसी मोर्चाबीच छलफल भएको छ । संविधानका विवादित विषय शासकीय स्वरूप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे मधेसी मोर्चासँग गम्भीर छलफल भएको एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले सञ्चारकर्मीलाई जानकारी दिनभयो । बैठकमा एमालेले सहमतिका लागि मोर्चासँग संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव राखेपछि मोर्चाले सहमतिका आधारमा संविधान निर्माण नभएसम्म मोर्चा सरकारमा नजाने जानकारी दिएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राससलाई बताउनुभयो । एमालेको संसदीय दलको कार्यालयमा भएको सो बैठकमा एमालेले छलफलका लागि आफ्नो एजेन्डासहित प्रस्ताव गर्दा मधेसी मोर्चाका नेताहरूले दिगो संविधानका लागि विगतमा माओवादी विद्रोहदेखि अन्तरिम संविधानसम्म प्रमुख राजनीतिक शक्तिबीच भएका सहमति र सम्झौताका आधारमा सहमति हुनुपर्ने सुझाव राखेका थिए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, नेता अग्नि खरेल र मोर्चाका तर्फबाट मधेस जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, मधेस जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरूको सहभागिता थियो ।