महराले विपक्षी दलको साझा धारणा बनाउने कुराको नेतृत्व गर्ने
एकीकृत नेकपा (माओवादी) नेतृत्वको संविधानसभामा प्रतिनिधित्व गर्ने २० राजनीतिक दलको मोर्चाले संविधानसभाका विवादित विषयमा समान धारणा बनाउनका लागि कार्यदल बनाएका छन् । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको संयुक्त बैठकले एमाओवादीका महासचिव कृष्णबहादुर महराको संयोजकत्वमा बनाएको सो कार्यदलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, समाजवादी जनता दलका अध्यक्ष एवं सभासद् प्रेमबहादुर सिंह, तराई–मधेस समाजवादी पार्टीका उपाध्यक्ष रानी शर्मा र खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राई सदस्य रहनुभएको छ । कार्यदलले पहिचानमा आधारित सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी गर्नका लागि समान धारणा बनाउने र एकीकृत रुपमा अगाडि बढ्ने निर्णय गरेको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । कार्यदललाई संविधानका विवादित विषयमा समान धारणा बनाउने अख्तियारी प्रदान गरिएको छ । दलबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना,निर्वाचन र न्याय प्रणालीलगायत विषयमा विवाद रहँदै आएको छ । विवादित विषयमा दलले लामो समयदेखि छलफल गर्दै आए पनि हालसम्म कुनै पनि सहमति हुन सकेको छैन । विवादित विषयमा सहमति नहुँदा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले हालसम्म संविधानसभामा प्रतिवेदनसमेत पठाउन सकेको छैन । प्रमुख दलका शीर्ष नेताले संवाद समितिका सभापति डा बाबुराम भट्टराईलाई कस्तो प्रतिवेदन पठाउने भन्ने विषयमा स्वविवेक प्रयोग गर्ने अख्तियारी दिएका छन् । बीस दलीय मोर्चाले समान धारणा तयार पारे नेपाली काँग्रेस र नेकपा (एमाले)लगायतले पेस गरेको प्रतिवेदनका सम्बन्धमा छलफल गर्न सहज हुने जनाइएको छ । बहस सरल र सहज बनाउनका लागि साझा धारणा बनाउन लागिएको नेता सिंहले जानकारी दिनुभयो । सत्तारुढ दलका तर्फबाट गत कात्तिकमा नैसंवाद समितिमा साझा अवधारणा पेस भइसकेको छ ।