शुक्रबार थाई नरेशको जन्मदिनमा स्वास्थ्यका कारण थाई राजाले दर्शनभेट दिएनन्
केही महिनायतेखि अस्पतालमै बसेर उपचार गराइरहनुभएका थाई नरेश भूमिबोल अदुल्यादेजले स्वास्थ्यको खराबीका कारण सर्वसाधारण थाई नागरिक एवम् सबैलाई दर्शन भेट नदिने हुनुभएको छ । शुक्रबार थाई राजा भूमिबोलको ८७ औं जन्मदिन हो । उहाँ बिरामी भई केही महिनायतादेखि अस्पतालको शय्यामा हुनुहुन्छ । त्यसैले यस पटकको जन्मदिनको अवसरमा यसअघिजस्तो उहाँले दिने गर्नुभएको दर्शन भेट नदिने हुनुभएको हो । थाई नरेश त्यहाँका नागरिकबीच लोकप्रिय हुनुहुन्छ । उहाँको जन्मदिनको अवसरमा हजारौं नागरिकले अस्पताल बाहिरै पुगेर शुभकामना दिएका छन् । उहाँ गत वर्षपनि बिरामी नै रहेको समयमा सो अस्पतालमा उपचार गराइरहनुभएको थियो र त्यसै अस्पतालको बरण्डामा उभिएर सबै नागरिकलाई सामुहिक दर्शनभेट दिनुभएको थियो । र यस पटक भने स्वास्थ्य अवस्था नाजुक भएकोले चिकित्सकले बाहिर नकिस्कन भनेका बताइएको छ । शाही चिकित्सकहरूको एक टोलीले राजा सामुहिक दर्शन भेटका लागि पनि बाहिर निस्कन नहुने सुझाव दिएका थिए । उहाँलाई शुभकामना दिन जाने नागरिकका लागि अस्पतालको बरण्डाबाट उहाँले दर्शन भेट दिने र त्यही दृश्य टेलिभिजनले पनि प्रत्यक्ष प्रशारण गर्नेगरी कार्यक्रम मिलाइएकोमा चिकित्सकले सोका लागि अनुमति नदिएपछि स्थगित गरिएको समाचारमा जनाइएको छ । थाई राजाको जन्मदिनलाई थाइल्यान्डमा फादर्श डे का रुपमा पनि मनाउने चलन छ । सो दिन त्यहाँ सार्वजनिक बिदा दिने गरिएको छ । राजा भूमिबोल थाइल्याण्डको राज्य प्रमुख तथा अभिभावकका रुपमा पनि मानिनुहुन्छ । उहाँ विश्वकै सबैभन्दा लामो समयसम्म राजगद्दीमा रहने राजा पनि हुनुहुन्छ । औपचारिक राजा (सेरेमोनियल किङ्) का रुपमा रहनुभएका राजा भूमिबोलको शासन सत्ता सञ्चालनका क्षेत्रमा भने कुनै अधिकार छैन । उहाँ राज्य प्रमुखका रुपमा रही आउनुभएको छ ।