विपक्षी दलहरुले सत्तामा जानका लागि खुट्टा तानातान गरेको एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आरोप
नेकपा ९एमाले० का नेता माधवकुमार नेपालले विपक्षीदलले संविधान जारी नभएसम्म सत्तामा जानका लागि खुट्टा तानातान गर्न नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले आयोजना गरेको अन्तरक्रियामा सरकार र दलहरूको सम्पूर्ण ध्यान संविधान लेखनमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । पूर्व प्रधानमन्त्री नेपालले भन्नुभयो, “सत्ता मोहमा प्रतिपक्षी दलहरू लाग्नुहुँदैन, संविधान जारी गरेपछि मात्र सरकार बनाउनेतिर ध्यान दिनुपर्छ ।” सम्पूर्ण नेपाली जनताको ध्यान माघ ८ भित्र संविधान आउँछ कि आउँदैन भनेर प्रतिक्षा गरिरहेको अवस्थामा सरकार निर्माणको कुरा गरेर ‘बेमौसमको बाजा’ बजाउँन हुँदैन, उहाँले भन्नुभयो । स्थानीय निकायको निर्वाचन नहुँदा भ्रष्टाचार व्याप्त भएको भन्दै नेता नेपालले भन्नुभयो, “कर्मचारीतन्त्रलाई पूरै विकासको जिम्मा दिँदा विकासको पैसा पकेटमा गएको छ, निर्वाचन जतिसक्दो छिटो नभएमा मुलुकसँग ठूलो खेलबाड हुन्छ ।” एकीकृत नेकपा ९माओवादी० लगायत केही पार्टीलाई चुनाव भनेपछि चिट्चिट पसिना आउने गरेको भन्दै उहाँले एक पटकको परिणाम आफ्नो पक्षमा नआउँदैमा सधैं आफूले पराजय नै भोग्नुपर्छ भन्ने सोच्न नहुने विचार राख्नुभयो । सङ्घीयतामा जाँदा जातीय राज्य बनाउने हो भने मुलुकको दुर्भाग्य हुने उल्लेख गर्दै नेता नेपालले नेपालका सम्पूर्ण जातिलाई सम्बोधन गर्न उनीहरूको भाषा, संस्कृति, हकअधिकारका कुरालाई सुनिश्चित गर्न सकिने बताउनुभयो । उहाँले संविधान जारी गर्ने विषयमा एमालेले कुनै आलटाल गर्न नचाहेको र सहमति गर्न सक्ने विषयमा छलफल गर्न समेत तयार रहेको धारणा राख्नुभयो ।संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिले निकास निकाले जस्तो देखिए पनि गतिरोध अन्त्य हुन नसकेको भन्दै नेता नेपालले समितिका सभापति डा बाबुराम भट्टराईलाई सम्पूर्ण अधिकार दिएको हुनाले स्वविवेक प्रयोग गरेर निर्णय गर्नुपर्ने निकै सङ्कटको अवस्था सृजना भएको बताउनुभयो ।