प्रहरीले युवकको हत्या गरेको विरोधमा प्रदर्शन, न्यूयोर्कमा काला र सेता जातिको द्वन्द्व बढ्ने खतरा


agitationअमेरिकामा एक काला युवकको प्रहरीबाट भएको हत्याको विरोधमा न्यु योर्क तथा अन्य प्रमुख सहरमा बिहीबार राति पनि हजारौँ प्रदर्शनकारीले सडक बन्द गरिदिएका छन् ।  जातीय रूपमा भेदभाव देखिने अर्को एक मृत्युको घटना सार्वजनिक भएपछि पनि यो शान्तिपूर्ण प्रदर्शन देखिएको हो । छ छोराछोरीका पिता तथा निरस्त्र एक काला पुरुषलाई एक गोरा अधिकारीले बलपूर्वक नियन्त्रण गर्दा निजको मृत्युभएकोमा कारबाही नगर्ने भनी बुधबार निर्णायक समूहले निर्णय गरेपछि ८४ लाख जनसङ्ख्यायुक्त अमेरिकी सबैभन्दा ठूलो नगर न्यु योर्कमा पुनः क्रोध देखा परेको छ । प्रदर्शनकारीले सडक, सुरुङ, पुल बन्द गरिदिएका छन् र ‘म सास लिन सक्दिन’ (आई कान्ट ब्रिद) भन्ने नारा लगाएका छन् । कर नतिरिएको चुरोट बेचेको आरोपमा जुलाई महिनामा ४३ वर्षीय दमका बिरामी एरिक गार्नरलाई प्रहरीले पक्राउ गर्न बलपूर्वक जमिनमा लडाउँदा उनले ती शब्दहरू पटकपटक प्रयोग गरेका थिए । उक्त घटनाको भिडियो पटकपटक टीभीमा देखाइएको छ । उक्त घटनामा गार्नरको मृत्यु भएको थियो र उनमा हदृयाघात भएको बताइएको छ । बिहीबारको प्रदर्शनको समयमा दर्जनौँ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको समाचार न्यु योर्क टाइम्सले प्रहरीलाई उद्धरण गरी प्रकाशन गरेको थियो । सिकागो, बोस्टन, फिलाडेल्फिया, बाल्टिमोर तथा वासिङटन डीसीमा पनि प्रदर्शन भएका थिए । वासिङटन डीसीमा ह्वाइट हाउसमा राष्ट्रपति बाराक ओबामाले राष्ट्रिय क्रिसमस रुखमा बत्ती बाल्नुहुँदा प्रदर्शनकारीले यातायात ठप्प पारिदिएका थिए । न्यु योर्कको प्रहरी मुख्यालय नजिकै रहेको फोली स्क्वायरमा प्रदर्शनकारी भेला भएका थिए भने उनीहरू ‘‘काला व्यक्तिको जीवनको पनि अर्थ छ’’ (ब्ल्याक लाइभ्ज म्याटर) र ‘‘जातीयवादले हत्या गर्छ’’ (रेसिजम किल्स) लेखिएका प्लेकार्ड बोकेका थिए । म्यानह्याटनका सडक ठप्प पारिदिएर तथा ब्रुकलिनतर्फ जाने म्यानह्याटन ब्रिजमा यातायात बन्द गरिदिएर हजारौँ प्रदर्शनकारी म्यानह्याटनको पश्चिमी भागमा बढेको सूचना अमेरिकी आमसञ्चारले दिएपछि प्रहरीले न्यु जर्सीसँग जोडिने हल्यान्ड टनल बन्द गरिदिएको थियो । अर्को समूहले ब्रुकलिन ब्रिज भएर अगाडि बढेको थियो भने उनीहरूले आज यो बन्द भएको भनी लेखिएको तुल बोकेका थिए । उनीहरूको साथमा नगरका विभिन्न भागमा प्रहरीले मारेका दश काला व्यक्तिको नाम लेखिएको शवदान रहेको थियो । गार्नरको मृत्यु तथा अन्य घटनाका साथमा अमेरिकी एक सङ्घीय अनुसन्धानमा क्लिभल्यान्डमा प्रहरीले नियमित रूपमा आवश्यकभन्दा बढी शक्ति प्रयोग गरेको देखिएपछि यी विवाद अझै गहन भएको छ । एरिजोनामा प्रहरीले एक सेता अधिकारीले ३४ वर्षीय काला व्यक्तिलाई एक सामुदायिक पसलको बाहिर भागमा भिडन्त हुँदा गोली हानी मारेको जानकारी दिएको छ । रमेन ब्रिस्बन नाम गरेका काला व्यक्तिले प्रहरीसँग भिडन्तको समयमा आफ्नो ज्याकेटभित्र हात हाली केही निकाल्न खोजेको अवस्थामा गोरा अधिकारीले बन्दुक निकाल्न खोजेको ठानी गोली हानेका थिए भने पछि यी व्यक्ति निरस्त्र रहेको फेला परेको फोनिक्स प्रहरीले जानकारी दिएको छ । गार्नरको घटनाले प्रहरी तथा अमेरिकी फौजदारी न्याय प्रणालीमा अल्पसङ्ख्यकलाई कसरी व्यवहार गरिन्छ भन्ने देखाउँछ । क्लिभल्यान्डमा गत महिना प्रहरीले १२ वर्षीय एक काला बालकलाई गोली हानी मारेका थिए भने गत साता मिसौरीको फर्गसनमा निर्णायक समितिले निरस्त्र काला नवयुवक माइकल ब्राउनलाई गोली हानेकोमा सेता अधिकारीमाथि कानुनी कारबाही गर्नु नपर्ने भनी निर्णय सुनाएको थियो । गार्नरको मृत्युमा मुद्दा नचलाउने निर्णय भएपछि पनि न्यु योर्कको प्रदर्शन शान्तपूर्ण थियो भने यस अवधिमा प्रहरीले ८३ व्यक्तिलाई पक्राउ गरेको छ । सन् १९९५ मा आफ्ना १८ वर्षीय छोरा एन्थोनी तथा भतिजा न्यु योर्क प्रहरीका कारण गुमाएका प्रदर्शनकारी मार्गारिटा रोजारियोले यहाँ काला व्यक्तिले आफ्नो जीवनको याचना गरे पनि प्रहरीले ध्यान नदिने बताए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले काला अमेरिकी जनतामा प्रहरीप्रति रहेको अविश्वासका बारेमा उल्लेख गर्नुभएको छ । उहाँले यो काला वा खैरा व्यक्तिको समस्या नभई अमेरिकी समस्या भएको बुझ्नु आवश्यक भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?