अफगानिस्तानले अब आफ्नो सुरक्षा आफँै गर्नसक्छ– अमेरिकी रक्षामन्त्री हेगेल
अमेरिकी रक्षामन्त्री चक ह्यागेलले अफगानिस्तानले अब आफ्नो सरक्षा आफै गर्नसक्ने बताउनुभएको छ । शनिबार अघोषित भ्रमणको रूपमा अफगानिस्तान पुग्नुभएका उहाँले अफगानिस्तानको नयाँ सरकार सो कार्यका लागि अब सक्षम रहेको धारणा राख्नुभएको हो । हालसम्म अफगानिस्तानमा नेटोका सैनिक रहेका छन् । उनीहरुले तालिवानविरुद्ध १३ वर्षदेखि युद्ध गरिरहेका छन् । अब त्यहाँ नेटोको युद्ध अन्तिम सातामा अवस्थामा पुगेको छ । अमेरिकी रक्षामन्त्री ह्यागेलले अफगानिस्तानको नयाँ निर्वाचित सरकार तथा उसका सेनाले सुरक्षाको जिम्मेवारी लिन लागेको समय पारेर यो सायद अन्तिम पटक भ्रमण गर्न लाग्नुभएको हो । यसै महिनाको अन्त्यसम्म अन्तर्राष्ट्रिय बल फर्कने तयारीमा रहेको छ । अमेरिकाका केही सैनिकबाहेक अब अफगानिस्तानबाट दशकदेखि रहेको नेटोले विदा लिन लागेको छ । उहाँले आफ्नो विमानमा पत्रकारहरूलाई यो मार्ग कठिन, चुनौतीपूर्ण तथा लामो भए पनि अफगानिस्तान तथा उसका जनताको अवस्था १३ वर्षअघिको भन्दा राम्रो भएको बताउनुभयो । उहाँले अफगान जनतामा आफ्नो भाग्य, मार्ग आफ्नै सर्तमा आफैँ निर्धारण गर्ने क्षमता भएको बताउनुभयो । उहाँले यो मार्ग आफैँमा पूर्ण नभए पनि अफगान जनताले निकै लामो मार्ग तय गरेको बताउनुभयो । उहाँले अफगानिस्तान रहँदा अफगान राष्ट्रपति अस्रफ घानीका साथै अफगानिस्तानमा रहेका वरिष्ठ कमान्डर र बाँकी रहेका सैनिकसँग भेट गर्नुहुनेछ । उहाँले काबुलमा सम्वाददाताहरुसँग भन्नुभयो– अफगानिस्तान अब १३ वर्षअघिको अवस्थामा छैन, यसले धेरै प्रगति गरिरहेको छ, सुरक्षामा पनि निकै नै प्रगति भएको छ । यसै महिनाको अन्तिममा सबै नेटो सैनिक फर्किने र त्यसपछि यहाँ अफगान सुरक्षा बललाई तालिम तथा सहयोगका लागि १२ हजार ५०० अमेरिकी सैनिक रहनेछन् । सन् २०१० मा अफगानिस्तानमा नेटोका एक लाख ३० हजार सैनिक रहेका थिए । सन् २००१ मा अफगानिस्तानबाट तालिवान शासनको अन्त्य भएपछि त्यहाँ विदेशी सेना पुगेको हो ।