भोलि संविधानसभाको बैठक, बैठकअघि सभाध्यक्ष नेम्बाङ र प्रमुख दलका शीर्ष नेताहरूबीच परामर्श
संविधान निर्माणमा देखिएका विवादित विषयलाई कसरी टुङ्गो लगाउने भन्ने विषयमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको छ । सभाध्यक्ष नेम्बाङको निवास बालुवाटारमा भएको छुट्टा–छुट्टै छलफलमा संविधान निर्माणमा देखिएका विवादित विषयलाई कसरी टुङ्गो लगाउने र सहमतिको आधारहरू के हुन सक्छन् भन्ने विषयमा गम्भीर विचार विर्मश भएको थियो । प्रमुख दलका शीर्ष नेताहरूले विवादित विषयमा दुई घण्टामा नै सहमति हुन सक्ने भन्ने सार्वजनिक अभिव्यक्ति समेत दिइरहेको बेलामा सभाध्यक्ष नेम्वाङले जनतालाई आश्वस्त पार्ने गरी माघ ८ गतेभित्र संविधान जारी गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको थियो । संविधानसभाको बैठक मङ्गलबारका लागि बोलाइएको सन्दर्भमा तत्काल सहमति जुटे केही प्रावधान र नियमावली खारेज गरेरै भए पनि संविधान जारी गर्न सकिने भएकाले सभाध्यक्ष नेम्बाङले दलहरूबीच भइरहेको पछिल्लो छलफलको बारेमा शीर्ष नेताहरूसँग जिज्ञासा राख्नुभएको थियो । उहाँले शीर्ष नेताहरूलाई सार्वजनिक आरोप प्रत्यारोपमा नउत्रन समेत आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री सुशील कोइरालालाई सभाध्यक्ष नेम्बाङले संविधान निर्माणको काममा सरकारले सकारात्मक वातावरण बनाउने र सहयोग गर्ने भएकाले दलहरूबीचको परामर्शलाई निरन्तरता दिन तथा तत्काल विवादित विषयमा सहमति जुटाउन विशेष आग्रह गर्नुभएको थियो । सभाध्यक्ष नेम्वाङको आग्रहमा प्रधानमन्त्री कोइरालाले आफू आजैबाट त्यसका लागि पूर्ण प्रतिबद्ध भएर लाग्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो । यस्तै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि सहमति निर्माणको आधार के हो र कति दिनमा सहमति हुन सक्छ भनेर जिज्ञासा राख्नुभएको थियो । सभाध्यक्ष नेम्बाङको जिज्ञासामा एमाले अध्यक्ष ओलीले दलहरूबीच विश्वासको वातावरण बनाउन आफू प्रयत्नशील रहेको र केही दिनभित्रै सहमति कायम हुने विश्वास दिलाउनुभएको थियो । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुङ्गोमा पु¥याउन हदैसम्मको लचकता अपनाउन तयार रहेको बताउनुभएको थियो । शीर्ष नेताहरूको छलफल सकारात्मक भएको जानकारी दिँदै सभाध्यक्ष नेम्बाङले सहमति हुने र तोकिएकै समयमा संविधान जारी हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नु भयो । सभाध्यक्ष नेम्बाङले नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा(एमाले)का प्रमुख सचेतक अग्नि खरेल र एकीकृत नेकपा(माओवादी)का प्रमुख सचेतक गिरिराजमणि पोखरेलसँग पनि परामर्श गर्नुभएको छ ।