प्रहरी र लडाकुबीच एक घण्टा गोली हानाहान, पाकिस्तानमा भुट्टोको हत्या योजनामा संलग्न लडाकू मारिए
पाकिस्तानमा सन् २००७ मा पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्या गर्ने प्रयासमा १३९ व्यक्तिको हत्या भएको बमआक्रमणका लागि जिम्मेवार तालिवान कमान्डरलाई मारिएको जानकारी पाकिस्तानी प्रहरीले मङ्गलबार दिएको छ । पाकिस्तानको सबैभन्दा ठूलो नगर कराचीनजिकै रहेको माङ्गोपिरमा प्रहरी तथा लडाकूबीच करिब एक घण्टा लामो गोली प्रहारमा फिर्दौस खान मारिएको जानकारी अपराध अनुसन्धान विभागका वरिष्ठ अधिकारी उस्मान बाज्वाले दिए । सन् २००७ को अक्टोबरमा पाकिस्तानमा एक राजनीतिक ¥यालीमा भुट्टोको ट्रक नजिकै भएको व्यापक क्षतिकारक बम आक्रमणको योजना खानले तयार गरेको जानकारी बाज्वाले दिए । भुट्टो उक्त आक्रमणमा जोगिनुभए पनि त्यसको दुई महिनापछि रावलपिन्डीमा एक ¥यालीमा एक आत्मघाती बम आक्रमणमा उहाँको हत्याभएको थियो । फिर्दौस खान तालिवान कमान्डर भएको र निजले आत्मघाती बम आक्रमणकारीलाई सहयोग तथा तालिम दिएको र लक्ष्यमा पु¥याएको बाज्वाले बताए । तत्कालिन सैनिक शासक पर्वेज मुसर्रफको प्रशासनले उक्त आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवान प्रमुख वैतुल्लाह मेहसुदमाथि लगाएको थियो । मेहसुदले उक्त आक्रमणमा आफ्नो संलग्नता नभएको बताएका थिए भने सन् २००९ को अगस्तमा अमेरिकी चालकविहीन विमान आक्रमणमा उनको मृत्यु भएको थियो । बाज्वाले सोमबार राती तथा मङ्गलबार बिहान उक्त भिडन्त भएको जानकारी दिए । अध्यारोको फाइदा उठाइ अन्य लडाकू भने उक्त भिडन्तका समयमा भाग्न सफल भएको उनले बताए । तेहरिक–ए–तालिवानले सन् २००७ मा पाकिस्तानमा विद्रोह आरम्भ गरेपछि हालसम्म सात हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।