शोकप्रस्ताव पारित गर्दै संविधानसभाको बैठक स्थगित, बैठक आज ११ बजे बस्दै
संविधानसभाको बैठकले बाग्लुङ जिल्ला क्षेत्र १ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सदस्य एवम् लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हरिबहादुर खड्काको असामयिक निधनप्रति गहिरो शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाबाट बाग्लुङ जिल्लाको पैँयुटामा उद्घाटन गर्नुहुने महायज्ञमा सहभागी हुन जानेक्रममा सांसद खड्का यही मङ्सिर १७ गते बिहान सो जिल्लाको भकुण्डे गाविस–९ स्थित कमेरे भन्ने स्थानमा ग १ झ २२४ नम्बरको जिप दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा यही मङ्सिर २१ गते आइतबार राति ८ः ३० बजे काठमाडौँस्थित न्युरो अस्पतालमा निधन भएको थियो । संविधानसभाको दोस्रो निर्वाचनमा उहाँले बाग्लुङ क्षेत्र १ बाट १३ हजार ५०० मत ल्याई निर्वाचित हुनुभएको थियो । उहाँका निकटम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का हीराबहादुर केसीले ११ हजार ९६३ मत प्राप्त गर्नुभएको थियो । समाजसेवीसमेत रहनुभएका खड्काको जिप दुर्घटनाप्रति सरकार र नेकाले छानविन समिति समेत गठन गरेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । साथै, बैठकमा सभासदले एक मिनेट मौनधारण गर्नुभएको थियो । शोक प्रस्तावमा “संविधानसभाको यो बैठक २०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ जिल्लाको क्षेत्र १ बाट नेपाली काँग्रेस पार्टीका तर्फबाट निर्वाचित सदस्य एवम् लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हरिबहादुर खड्काको ५१ वर्षको उमेरमा बाग्लुङमा जीप दुर्घटनामा घाइते हुनुभई काठमाडौँस्थित न्युरो अस्पतालमा उपचारको क्रममा यही मङ्सिर २१ गते आइतबार राति ८ः३० बजे असामयिक निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समावेदना प्रकट गर्दछ” भनिएको छ । संविधानसभाको बैठकमा मन्त्रीहरूको भने उपस्थिति रहेको थिएन । संविधानसभाको अर्काे बैठक भोलि मङ्सिर २४ गते बुधबार ११ बजे बस्नेछ ।