रातभर जंगलमा बेपत्ता भएका आठ बालिकाको सेनाबाट सकुशल उद्धार, बयार खान गएको बयान


armyबयर खान भनेर शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र छिरेका भीमदत्त नगरपालिका–१९ बागफाँटाका आठ बालिकालाई आरक्ष सुरक्षार्थ खटिएको सेनाको एक टोलीले सकुशल उद्धार गरेको छ । आरक्ष सुरक्षार्थ खटिएको गरुडदल गणअन्तर्गतको पिपरीया पोस्टबाट खटिएको टोलीले बालिकाको सकुशल उद्धार गरेको हो । सोमबार बेलुका विद्यालयबाट घर फर्केका बालिका बयर खोज्ने भन्दै शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र छिरेका थिए । यसपछि उनीहरु जंगलमै हराए र बाटो भुलेपछि फर्किन सकेनन । परिवारजनले खोजी गर्न आग्रह गरेपछि सेनाको टोलीले सबै बालिकाको उद्धार गरी आरक्ष कार्यालयलाई बुझाएको गरुडदल गण मझगाउँ ब्यारेकले जनाएको छ । उनीहरुलाई पिपरिया पोस्टको झन्डै तीन किलोमिटरभित्र जङ्गलमा फेला पारेको थियो । आरक्ष कार्यालयले पनि उद्धार गरिएका बालिकालाई अभिभावकको जिम्मा लगाइसकेको छ । बालिकाको खोजीका लागि आरक्ष सुरक्षार्थ खटिएको सेनाका सबै पोस्ट तथा आरक्ष प्रशासन मध्यरातसम्म खटिएका थिए । खोजीका क्रममा उनीहरु भोलिपल्ट भेटिएका हुन् । एक रात आरक्षमा अलपत्र परेका बालिकाहरु सातदेखि ११ वर्षसम्मका रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?