राजदूतको टिप्पणीबाट उत्पन्न असहजताका लागि बेलायती दूतावासबाट खेद व्यक्त
सरकारले नेपालका लागि बेलायतका राजदूत एन्ड्रयू जेम्स स्पार्कस्ले ‘सभासद्ज्यूहरूलाई पत्र ’ शीर्षकमा गत बुधबार राजधानीबाट प्रकाशन हुने एक अङ्ग्रेजी दैनिकमा छापिएको आलेखका सम्बन्धमा स्पष्टीकरण सोधेको छ । परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागीले आज अपराह्न राजधानीस्थित बेलायती दूतावासका कावा राजदूत गाए ह्यारिसनलाई मन्त्रालयमा बोलाएर राजदूतको अभिव्यक्तिप्रति नेपाल सरकारको चासो व्यक्त गर्नुभएको हो । संविधानलेखनको वर्तमान सन्दर्भमा राजदूतबाट व्यक्त विषयको गाम्भीर्य एवम् संवेदनशीलताप्रति बेलायती दूतावासलाई सचेत गराउँदै कामु सचिव वैरागीले राजदूतको टिप्पणी अनुपयुक्त एवम् अनावश्यक भन्दै त्यसले नेपाली समाजमा विद्यमान सहिष्णुता र समझादारीमा नकारात्मक असर पार्नसक्नेतर्फ उपनियोग प्रमुखको ध्यानाकर्षण गराएको मन्त्रालयले जनाएको छ । कामु सचिव वैरागीले भविष्यमा त्यस्ता टीकाटिप्पणी नगर्न पनि सुझाव दिनुभएको थियो । यसैबीच बेलायती दूतावासले विज्ञप्ति जारी गरी ‘नेपालमा कस्तो संविधान हुनुपर्छ भन्नेमा संविधानसभा सदस्य र नेपाली जनताले निर्णय गर्ने विषय हो, नेपालको पुरानो मित्रका नाताले संविधान लेखनको महत्वपूर्ण क्षणमा सभासद्का नाममा लेखिएको खुलापत्र समर्थनको सन्देश’ भएको स्पष्ट गरेको छ । बहुजातीय नेपालीका आस्था र संस्कृतिप्रति दूतावासको अगाध सम्मान रहेको बताउँदै राजदूतको टिप्पणीबाट उत्पन्न असहजताप्रति खेद प्रकट गरिएको छ ।