के गर्दैछ सरकार ? तेलको मूल्य घटाउने छाँट छैन, विद्यार्थीले दबाब बढाउँदै
संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य घटउन माग गर्दै नेपाल आयल निगममा ध्यानाकर्षण पत्र बुझाएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएको परिपेक्ष्यमा त्यसैको आधारमा नेपालमा पनि वैज्ञानिक ढङ्गले मूल्य समायोजन गर्न माग गरिएको हो । ध्यानाकर्षण पत्रमा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको अनुपातमा चाँडो नयाँ मूल्य निर्धारण गर्नुपर्ने, आयल निगममा हुने भ्रष्टाचार तथा चुहावट नियन्त्रण गर्नुपर्ने, स्वचालित मूल्य प्रणाली लागू भएकाले पनि वैज्ञानिक ढङ्गले मूल्य समायोजन गर्नुपर्ने माग विद्यार्थी सङ्गठनले गरेका छन् । सो अवसरमा नेवि सङ्घका नेता युपी लामिछानेले सम्पूर्ण विद्यार्थी तथा आम नागरिकलाई प्रभाव पार्ने पेट्रोलियम पदार्थको मूल्य एक÷दुई दिनमा नघटे आफूहरू शान्तिपूर्ण आन्दोलनमा जाने बताउनुभएको थियो । अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा प्रतिव्यारेल तेलको मूल्य ६० अमेरिकी डलरले घट्दा पनि निगम चुपचाप बसेको गुनासो गर्नुभयो ।