पाकिस्तान आक्रमणपछि सैनिक प्रमुख काबुल भ्रमणमा, संयुक्त अपरेशन हुने
पाकिस्तानका सैनिक प्रमुख जनरल राहिल सरिफ बुधबार काबुलको भ्रमणमा पुग्नु भएको छ । उहाँ अफगानिस्तानका राष्ट्रपतिसँग आतङ्कवादबाट उत्पन समस्यासँग जुध्न विषयमा गम्भीर छलफल गर्नको लागि त्यहाँ पुग्नु भएको बताइएको छ । पाकिस्तानमा सैनिकद्धारा सञ्चालित एक सर्वसाधारण विद्यालयमा तालिवानी आतङ्ककारीले गरेको आक्रमणपछि उहाँ त्यहाँ पुग्नु भएको हो । यस आक्रमणमा विद्यालयका बालबालिकासहित १४८ व्यक्तिको मृत्यु भएको थियो । सरिफले पाकिस्तान गुप्तचर निकायमा प्रमुख , राष्ट्रपति असरफ घानी, नेटो कमाण्डर जनरल जोन क्याम्पबेललगायत अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गर्नु हुने जनाइएको छ । अफगानिस्तान र पाकिस्तानले एक अर्कालाई तालिवानी आतङ्ककारीहरुलाई सीमा क्षेत्रमा शरण दिएको दोषारोपण गर्दै आएका छन । सीमा क्षेत्रका विषयलगायत यसै महिनाको अन्त्यमा अफगानिस्तानबाट नेटो सैनिक फर्किन विषयमा पनि अफगान उच्च अधिकारीहरुसँग सरिफको वार्ता हुने अनुमान गरिएको छ ।