एउटी गर्भवती आमालाई हेलिकोप्टर मगाएर बचाइयो यसरी
सुत्केरी व्यथा लाग्दा समस्या भएपछि मृत्युको नजिक पुगेकी सोताङ–४ निवासी रिमा नेपालीलाई हेलिकोप्टरबाट उद्धार गरी मिसन अस्पताल ओखलढुङ्गा लगेर ज्यान बचाइएको छ । व्यथा लागेपछि आज बिहान प्राथमिक स्वास्थ्य केन्द्र सोताङ लगिएकी नेपालीको अवस्था गम्भीर भएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङका अहेव श्रीध्वज राईको आग्रहमा प्रजिअ झङ्कनाथ ढकालले हेलिकोप्टर मगाउनुभएको थियो । नवजातको हात र सालनाल बाहिर निस्किएको अवस्थामा प्रसूति हुन नसकेपछि मिसन अस्पताल सोताङ लगिएकी नेपालीले जुम्ल्याहा जन्माएकी छन् । अहिले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको मिसन अस्पतालले जनाएको छ । पेटमा दुई बच्चा रहेको र सालनाल तथा बच्चाको हात बाहिर रहेको अवस्था अत्यन्तै जटिल रहेको र तत्कालै बच्चा बाहिर निकाल्न नसके आमा र वच्चा दुवैको ज्यान खतरामा हुने भएकाले अन्यत्र लैजान पहल गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सोताङका अहेब राईले बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेका जीवन नेपालीकी २५ वर्षीया श्रीमती रिमाको ज्यान जोखिममा भएपछि स्थानीयवासीले केही सहयोग सङ्कलन गरेको भए पनि हेलिकोप्टर मगाउन पर्याप्त थिएन । ज्यानै जोखिममा रहेको जानकारी आएपछि आफूले गृह मन्त्रालयमा अनुरोध गरी हेलकोप्टर मगाएर ओखलढुङ्गा पठाएको प्रजिअ ढकालले बताउनुभयो । यसअघि एक छोरी रहेकी रिमाका श्रीमान् जीवनले आफूसँग सुत्केरी स्याहार गर्ने खर्चसमेत नभएका अवस्थामा निःशुल्क हेलिकोप्टर ल्याएर श्रीमती र छोरीको ज्यान बचाएको भन्दै खुसी व्यक्त गर्नुभयो । सदरमुकामबाट एक दिनभन्दा बढीको पैदलदूरीमा रहेको सोताङमा सुत्केरी व्यथा लाग्दा कुनै समस्या देखिएमा हेलिकोप्टर भाडामा लिनाको विकल्प छैन । हेलिकोप्टर भाडामा लिन नसक्दा बर्सेनि छ सात गर्भवतीले ज्यान गुमाउने गरेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।