५० वर्षपछि शितयुद्धको अन्त्य गर्ने सुरुवात, अमेरिका तथा क्युबाबीच सम्बन्धको ऐतिहासिक पाइला


Barack Obamaअमेरिका तथा क्युबा पाँच दशकको शीतयुद्धको अवस्था अन्त्य गर्न अगाडि बढेका छन् र उनीहरूले आश्चर्यलाग्दो प्रगतिको रूपमा कूटनीतिक सम्बन्ध स्थापना गर्न सहमति व्यक्त गरेका छन् । यसबाट क्युबामाथि लगाइएको अमेरिकी व्यापार प्रतिबन्ध पनि हट्ने विश्वास गरिएको छ । दुई मुलुकले बन्दी आदानप्रदान गरेपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले वासिङटन कम्युनिस्ट मुलुक क्युबासँग सम्बन्धमा नयाँ अध्यायका लागि तयार रहेको बताउनुभयो । उहाँले सन् १९६१ देखि हवानामा बन्द भएको अमेरिकी दूतावास पुनः खुला गर्ने जानकारी दिनुभयो । ‘‘हामी सबै अमेरिकी हौँ’’ राष्ट्रपति ओबामाले ह्वाइट हाउसमा पश्चिमी गोलाद्र्धमा अमेरिकी नेतृत्व पुनः आरम्भ गर्ने प्रयासमा स्पेनी भाषामा भन्नुभयो । क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोले हवानामा सोही समयमा दुई मुलुक आधा शताब्दीसम्मको शत्रुतापछि कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्न सहमत भएको पुष्टि गर्नुभयो । उहाँले राष्ट्रपति ओबामाको निर्णयलाई आफ्ना जनताले सम्मान र स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले क्युबामाथि लगाइएको प्रतिबन्ध पनि हटाइनुपर्ने माग गर्नुभयो । वासिङटनमा राष्ट्रपति ओबामाले अमेरिकी व्यापार प्रतिबन्ध असफल भएको बताउनुभयो । उहाँले संसद कङ्ग्रेसलाई त्यसलाई हटाउन आग्रह गर्ने बताउनुभयो । उहाँले आफ्नो राष्ट्रपतीय अधिकार प्रयोग गरी कूटनीतिक तथा भ्रमण सम्पर्क स्थापना गर्ने निर्णय गर्नुभयो । राष्ट्रपति ओबामाले अमेरिकी अभिरुचि अगाडि बढाउन काम नलाग्ने तथा दसकौँसम्म असफल भएको विधि अन्त्य गरिने र दुई मुलुकबीच सम्बन्ध सामान्य बनाउने प्रक्रिया आरम्भ गरिने बताउनुभयो । उहाँले यी परिवर्तनबाट आफूले अमेरिकी तथा क्युबाली जनताबीच थप अवसर सिर्जना गर्न तथा अमेरिकी मुलुकबीच नयाँ अध्याय आरम्भ गर्न चाहेको बताउनुभयो । पछि राष्ट्रपति ओबामाले अमेरिकी राष्ट्रपतिले क्युबाको भ्रमण गर्ने भन्ने हाल सोच्नै नसकिने सम्भावनाका विषयमा बोल्दै यस विषयलाई आफूले अस्वीकार गर्न नसक्ने बताउनुभयो । ‘‘मसँग यस विषयमा हाल कुनै योजना छैन तर हेरौँ विषय कसरी विकास हुन्छन्’’, राष्ट्रपति ओबामाले एबीसी च्यानलको ‘वल्र्ड न्युज टुनाइट’ मा एक विशेष अन्तर्वार्तामा भन्नुभयो । दुई मुलुकबीच महत्वपूर्ण नीतिगत परिवर्तनको विश्वव्यापी रूपमा स्वागत भएको छ । युरोपेली महासङ्घ पनि क्युबासँग सम्बन्ध सामान्य बनाउन अगाडि बढेको छ र उसले यसलाई ऐतिहासिक परिवर्तनको समय भन्दै स्वागत गरेको छ । हवानामा क्युवाली जनताले खुसी मनाएका छन् । चिलीका विदेशमन्त्री हेराल्डो मुनोजले यो अमेरिकी मुलुकमा शीतयुद्ध अन्त्यको आरम्भ भएको बताउनुभयो । अमेरिकी राष्ट्रपति ओबामा तथा क्युबाली नेता क्यास्ट्रोले पोप फ्रान्सिस तथा क्याथोलिक चर्चले तीतो सम्बन्ध हटाउन सहयोग गरेकोमा धन्यवाद दिनुभयो । भ्याटिकनले पोपले दुबैलाई कठिनाइ हटाउन सकेकोमा बधाइ दिनभएको जानकारी दिएको छ । क्यानडाले गोप्य वार्ताका लागि सहयोग गरेकोमा दुबै पक्षले प्रशंसा गरेका छन् । हवानाले कारागारमा रहेका अमेरिकी ठेक्केदार अलान ग्रोसलाई अकस्मात् रिहा गरिदिएपछि नयाँ अवस्था देखा परेको हो । ग्रोसका साथमा अमेरिकाका लागि गुप्तचरी गर्ने अर्का क्युबाली नागरिक पनि रिहा भएका छन् । उनी गत २० वर्षसम्म कारागारमा रहेका थिए । उनी क्युबामा रहेका सबैभन्दा महत्वपूर्ण अमेरिकी गुप्तचरमध्ये एक थिए । हवानाले दर्जनौँ राजनीतिक बन्दी रिहा गर्न सहमति व्यक्त गरेको अमेरिकी एक वरिष्ठ अधिकारीले बताए । यसको प्रतिक्रियामा अमेरिकाले क्युबाका तीनजना गुप्तचरलाई रिहा गरिदियो । राष्ट्रपति ओबामाले हालसम्म अमेरिकाले क्युबालाई राज्यद्वारा प्रायोजित आतङ्कवाद सञ्चालन गर्ने मुलुकको रूपमा हेरेकोमा त्यसमा पुनः परीक्षण गर्न विदेश मन्त्रालयलाई निर्देशन दिनुभयो । अमेरिकाले सन् १९६० मा क्युबामाथि व्यापार प्रतिबन्ध लगाएको थियो भने सन् १९६१ देखि त्यस मुलुकसँग कुटनीतिक सम्बन्ध अन्त्य ग¥यो । अमेरिकी राष्ट्रपति ओबामाको कार्यकाल दुई वर्ष मात्र बाँकी छ र क्युबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रो ८८ वर्ष पुग्नुभएको छ र बिरामी हुनुहुन्छ । उहाँका भाइ राउल ८३ वर्ष हुनुभएको छ । डेमोक्र्याटिक पार्टीका वरिष्ठ सांसद डिक डर्बिनले यसले क्युबामा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो । अर्कोतिर रिपब्लिकन सांसदले यस पाइलाको भत्र्सना गरेका छन् र यसले राष्ट्रपति ओबामालाई क्युमामाथिको प्रतिबन्ध हटाउन संसदमा प्रतिरोध भोग्नुपर्ने देखाएको छ । क्युबाली मूलका अमेरिकी सांसद मार्को रुबियोले ह्वाइट हाउसले पराजय स्वीकार गरेको र निकै थोरै फाइदा प्राप्त गरेको आरोप लगाउनुभयो । संसदका नेता जोन बोएनरले यो तानासाहलाई दिइएको विवेकहीन छुट भएको बताउनुभयो । पैँसट्ठी वर्षीय ग्रोसलाई वासिङटनबाहिर हवाईकेन्द्रमा अमेरिकी माटोमा विदेशमन्त्री जोन केरीले स्वागत गर्नुभयो । ग्रोसले वार्ताको नयाँ भावनालाई आफूले स्वागत गर्ने बताउनुभयो । विदेशमन्त्री केरीले आफू ६० वर्षमा क्युबाको भ्रमण गर्ने प्रथम विदेशमन्त्री हुने अपेक्षा गरिएको बताउनुभयो । क्युबामा अमेरिकाका लागि काम गर्ने तथा गत २० वर्षसम्म कारागारमा रहेको एक गुप्तचरलाई पनि स्वागत गरिएको छ । राष्ट्रपति ओबामाले यी क्युबामा अमेरिकाका लागि काम गर्ने सबैभन्दा प्रमुख गुप्तचरमध्ये एक भएको बताउनुभयो । क्युबाली नेता राउल क्यास्ट्रोले अमेरिकाले रिहा गरिदिएका तीन गुप्तचरलाई हवाना विमानस्थलमा स्वागत गर्नुभयो । ग्रोसलाई सन् २००९ मा क्युबाका यहुदी समुदायलाई सञ्चार उपकरण वितरण गरिरहेको समयमा पक्राउ गरिएको थियो । उनी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्थाका लागि ठेक्केदारका रूपमा काम गर्थे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?