माघ ८ मा संविधान ल्याउनका लागि जायज माग सम्बोधन हुने अध्यक्ष ओलीको भनाई


kp oliजननेता मदन भण्डारीले परिकल्पना गर्नुभएको राजनीतिक तथा सामाजिक परिवर्तनतर्फ नेकपा (एमाले)को ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिइएका छन् । मदन भण्डारी फाउन्डेसन काठमाडौँ जिल्ला कार्यसमितिले आफ्ना कार्यकर्ताका लागि आयोजना गरेको जबज अध्ययन कक्षामा भाग लिइरहेका प्रशिक्षार्थीलाई आज सम्बोधन गर्दै सहभागी वक्ताहरूले विसं २०४६ साल र २०६३ को राजनीतिक परिवर्तनपछि पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नभएको र महँगी, बेरोजगारीजस्ता समस्याले अझ गाँजेकाले मदन भण्डारीले प्रतिपादन गर्नुभएको सिद्धान्त गाउँ–गाउँमा लगी सामाजिक परिवर्तन ल्याउन प्रयास गर्नुपर्ने बताए । जबज अध्ययन कक्षाको उद्घाटन गर्दै एमालेका अध्यक्ष एवम् फाउन्डेसनका संरक्षक केपी शर्मा ओलीले जननेता भण्डारीले प्रतिपादन गर्नुभएको जबज राष्ट्रिय विचार हो र यो देशको सामाजिक परिवर्तनका लागि अत्यावश्यक छ भन्नुभयो । उहाँले माक्र्सवादलाई समयसापेक्ष रुपमा कार्यान्वयन गर्न सकेमात्र भण्डारीको सपना साकार हुने विचार व्यक्त गर्नुभयो । अर्को एक प्रसङ्गमा ओलीले भन्नुभयो – “एमाले जायज माग सम्बोधन गर्दै माघ ८ भित्र संविधान जारी गर्न प्रतिबद्ध छ ।” उहाँले एमाले पुँजीको प्रयोग गर्दै राजनीतिक र आर्थिक विकास गरी जनवादतर्फ उन्मुख रहेको बताउनुभयो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष विनोद श्रेष्ठले देशको समग्र विकासका लागि जलस्रोत, पर्यटन र कृषिको विकास गर्नुपर्ने खाँचो औँल्याउनुभयो । फाउन्डेसनका सचिव भेषराज अधिकारीका अनुसार फाउन्डेसनको ४० जिल्लामा कार्यसमिति गठन भइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?