संविधानको खाका भएपनि माघ ८ गते नै ल्याउने देउवाको दाबी, सहमति बन्नेमा विश्वस्त
नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले किसानले प्राङ्गारिक तरकारी खेतीमा अग्रसर हुनुपर्ने बताउनुभएको छ । धादिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको माध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको उद्घाटन गर्दै उहाँले प्राङ्गारिक तरकारी उत्पादक किसानका लागि धादिङको हावापानी उपयुक्त भएको बताउनुभयो । जिल्लामा जलस्रोत र पर्यटनको सम्भावना प्रचुर भएको बताउँदै उहाँले यसतर्फ मिलेर लगानी गर्न व्यवसायीलाई आग्रहसमेत गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री एवम् सभासद् गङ्गालाल तुलाधर, राजेन्द्र पाण्डे, पूर्व मन्त्री ठाकुरप्रसाद शर्मा, सभासद् गुरुप्रसाद बुर्लाकोटीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी, नेता देउवाले माघ ८ गतेभित्र संविधान जारी हुन नसकेपनि सबैको सहमतिबाट संविधानको खाका तयार गरी जनता समक्ष सार्वजनिक गरिने बताउनुभएको छ । नेपाल प्रेस युनियन धादिङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले फरक विचार भएका दलरुको फरक–फरक धारणा आउनु स्वाभाविक भएपनि देश र जनताको हितका लागि एकमतबाट संविधान बन्नेमा आफू विश्वस्त भएको बताउनुभयो । त्यस्तै नेपाल तरुण दल जिल्ला समिति धादिङले आयोजना गरेको तरुण भेटघाटमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता देउवाले मुलुक अहिले कठिन मोडबाट गुज्रिरहेको अवस्थामा संयमित भई देश विकास र सङ्गठन सुदृढीकरणका लागि नेकाका सबै तहका नेता कार्यकर्तामा एकता हुनु आवश्यक रहेको बताउनुभयो । धादिङ उद्योग वाणिज्य सङ्घले धादिङवेसीमा आयोजना गरेको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव उद्घाटन गर्न नेता देउवा यहाँ आउनुभएको हो ।