वैद्य माओवादीको राष्ट्रिय भेला काठमाडौंमा, राजनीतिक प्रतिवेदनमा छलफल जारी
नेकपा–माओवादीको प्रथम राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ । नेत्र विक्रम चन्द पक्ष पार्टीबाट अलग्गिएर छुट्टै नयाँ पार्टी गठन गरिएपछिको अवस्थामा पार्टीको आगामी कार्यनीति तय गर्न माओवादीले भेलाको आयोजना गरेको हो । भेलामा अध्यक्ष मोहन वैद्यले २६ पृष्ठको समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दे अध्यक्ष वैद्यले फुटबाट चिन्तित नहुन कार्यकर्तालाई आग्रह गर्दै सच्चा क्रान्तिकारीलाई एकताबद्ध गर्दै अघि बढ्ने जनाउनुभयो । चन्दको पार्टी विभाजन क्रान्ति सम्पन्न गर्न नभई क्रान्ति बिथोल्न भएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो–“विप्लवको कार्यदिशामा जनयुद्ध पनि होइन, जनविद्रोह पनि होइन भनिएको छ, के हो त भन्नेनै छैन, वास्तवमा भन्ने हो भने उहाँको कार्यदिशा नै छैन ।” चन्दले आन्दोलन गर्नुअघि नै वार्ताको कुरा गरेर सत्तामा साझेदारीको प्रस्ताव गर्नुले पदलोलुपता प्रस्तुत गरेको अध्यक्ष वैद्यको कथन थियो । अर्को प्रसङ्गमा अध्यक्ष वैद्यले सर्वपक्षीय सभाबाट संविधान लेख्न दबाब दिन पुस २५ गतेदेखि आन्दोलन चर्काइने जानकारी दिनुभयो । माओवादी उपाध्यक्ष सिपी गजुरेलले वर्ग सङ्घर्ष प्रमुख भएको समयमा अन्तरसङ्घर्ष चर्काएर चन्दले अप्रत्याशीतरूपमा पार्टी फुटाएको धारणा राख्नुभयो । पुस १४ गतेसम्म चल्ने भेलामा ८०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता छ ।