नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरुन्जेल विश्राम नलिने कमल थापाको हुँकार
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरुन्जेलसम्म आफूले विश्राम नलिने बताउनु भएको छ । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मागसहित गत पुस ९ गतेदेखि पूर्वी नेपालबाट सुरु भएको मेची महाकाली रथयात्राको क्रममा दाङको लमहीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो । उहाँले धर्मनिरपेक्षताको मारमा सबैभन्दा बढी आदिवासी, जनजाति र तराईका थारू समुदाय परेको बताउँदै पार्टी जुनसुकै भए पनि राजनीतिक स्वार्थभन्दा माथि उठेर नेपाललाई हिन्दु राष्ट्रसहितको संविधान जारी गर्नका लागि दबाब दिन सबैलाई अपिल गर्नुभयो । राप्रपा नेपाललगायत नेपाली काँग्रेस, एमाले र अरू दलका थुप्रै नेताहरू पनि अहिले हिन्दु राष्ट्रको पक्षमा रहेको उहाँको भनाइ छ । धर्म निरपेक्षताका कारण नेपालको धर्म, संस्कार र संस्कृृतिहरू लोप हुने खतरामा रहेकाले सामाजिक सद्भाव, खल्बलिन नदिन, राष्ट्रिय एकतालाई मजबुद बनाउन र धर्म निरपेक्षता खारेज गर्नका लागि सबै एकजुट हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिनुभयो ।