माघ ८ मै संविधान जारी गर्नुपर्ने एमाले स्थायी समिति बैठकको ठहर, माओवादी र मधेशी मोर्चाले कार्यदलमा विवाद गरेको रावलको दाबी


umlनेकपा (एमाले) ले सहमतिका नाममा समय खेर नफाली पुनः माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बसेको स्थायी कमिटी बैठकमा सबैलाई मिलाएर लैजाने सहमतिको प्रयास गर्ने तर सहमतिका नाममा समय बर्बाद नगरी निर्धारित मितिमै संविधान जारी गर्नुपर्नेमा जोड दिइएको हो । पार्टीको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले संविधानका विवादित विषयमा सहमति खोज्न गठित कार्यदलमा एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चाले बैठकमा प्रस्ताव पनि नराख्ने तर एकोहोरो विवाद गर्ने काम मात्र गरिरहेको जानकारी गराउनुभयो । कार्यदलका सदस्यसमेत रहनुभएका रावलले मधेसी मोर्चाले लम्बाई राख्ने र सत्ताको सौदाबाजी गर्ने काम मात्र गरिरहेको जानकारी गराउँदै नेपाली काँग्रेस र एमालेको प्रस्तावमा उनीहरूले सहमति गर्न नचाहेको प्रष्ट देखिएको बताउनुभयो । बैठकमा सहमति नभए प्रक्रियाबाटै भए पनि समयमै संविधान जारी गर्न सभामुखलाई पनि आग्रह गर्नुपर्ने र दैनिकीजस्तै सहमतिका लागि बैठक बस्ने, सहमति नगर्ने गरेर समय खेर जान दिन नहुने स्थायी कमिटी सदस्यबाट सुझाव आएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो । पार्टीको यही पुस १ गते सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले पनि सहमति नभए समय खेर नफाली प्रक्रियामा गएर भए पनि संविधान निर्धारित मितिमै जारी गर्नुपर्नेमा जोड दिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?