किन आत्महत्या गरे विद्यालय व्यवस्थापन समितिका अध्यक्षले ?
कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका वडा नं ८ स्टेसनपुरका ४७ वर्षीय द्रोणबहादुर सिंहले आफ्नै घरभित्रै झुन्डिएर आत्महत्या गरेका छन् । धर्मजन्ता उच्चमाध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका सिंहले घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेकोे इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालबहादुर ऐरले बताउनुभयो । साँझ ५ बजे घरभित्र छिरेका सिंह बाहिर नआएपछि घरपरिवारले भित्र गएर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । घरपरिवारभित्र र बाहिर राम्रै व्यवहार रहेका सिंहको आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरी नायब निरीक्षक ऐरले बताउनुभयो । सिंहको शवलाई शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल लैजाने प्रहरीले जनाएको छ ।