दक्षिणपन्थी र उग्रबामपन्थी शक्तिका कारण देशमा संविधान बन्न नसकेको ओलीको ठहर


kp oliनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएकै समयमा संविधान जारी गर्ने विषय विभिन्न बहानाबाजीका कारणले जारी हुन नसक्ने सम्भावना बढेर गएको बताउनुभएको छ । सुनसरीको दुहवी भलुवा नगरपालिकामा पार्टीको ३ नम्बर क्षेत्रीय समितिले आयोजना गरेको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाली जनताले चाहेको संविधान जारी गरेर मुलुकलाई समृद्ध बनाउनेभन्दा पनि नेपाली जनतालाई अल्मल्याएर संविधान जारी नहोस् भन्ने शक्तिले अहिले खेल्न खोजेकाले तोकिएकै समयमा संविधान नबन्ला कि भन्ने आशङ्का बढेको हो भन्नुभयो । संविधान बनाउन सबैले एकजुट हुने हो भने अझै पनि तोकिएकै समयमा संविधान बन्न सक्ने प्रबल सम्भावना रहेको पनि अध्यक्ष ओलीले स्पष्ट पार्नुभयो । जनतालाई झुक्याएर राजनीतिमा रमाउने शक्तिहरूको बढी चलखेल हाबी भएकाले संविधान लेखन कार्यले गति लिन नसकेकोतर्फ सबैले सचेत बन्न जरुरी रहेको औँल्याउँदै अध्यक्ष ओलीले दक्षिणपन्थी र उग्रवामपन्थी शक्तिका कारणले देश बनाउने अभियानले गति लिन नसकेको हो भन्नुभयो । नेकपा एमालेले २०५१ सालमा अल्पमतको नौ महिने शासनकालमा आफ्नो गाउँ आफै बनाऔँभन्ने अभियान ल्याएर धेरै लोकप्रियता आर्जन गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले त्यतिखेर विपक्षीहरूले कनिका छरेको भनेर लगाएको आरोप अहिले पनि बीज बनेर फष्टाइरहेको दाबी गर्नुभयो । कार्यक्रममा एमालेका सचिव भीम आचार्य र केन्द्रीय सदस्य भगवती चौधरीले पनि आ–आफ्नो विचार राख्नुभएको थियो । यसैगरी अध्यक्ष ओलीले कार्यक्रमपछि ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड)को १९ आँै वार्षिक साधारणसभाको पनि उद्घाटन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?