वैद्य माओवादीको राष्ट्रिय भेला सम्पन्न, मौलिक कार्यदिशा पारित भएको वैद्यको दाबी, संघर्ष अघि बढाउने
यही पुस ११ गतेदेखि जारी नेकपा–माओवादीको प्रथम राष्ट्रिय भेलासम्पन्न भएको छ । नेत्रबिक्रम चन्द पक्ष पार्टीबाट अलग्गिएर छुट्टै नयाँ पार्टी गठन गरिएपछिको अवस्थामा पार्टीको आगामी कार्यनीति तय गर्न माओवादीले राजधानीमा भेलाको आयोजना गरेको हो । भेला सम्पन्न गर्दै अध्यक्ष मोहन वैद्यले जनयुद्ध र जनविद्रोहको विशेषता मिलाएर मौलिक प्रकारको कार्यदिशा विकास गर्न भेला सहयोगी भएको बताउनुभयो । उहाँले कार्यकर्तालाई वैधानिक र अवैधानिक दुवै सङ्घर्षको तालमेल गरेर अगाडि जानुपर्ने बताउँदै तत्कालका लागि वैधानिक सङ्घर्षमा जोड दिने नीति पार्टीले लिने धारणासमेत राख्नुभयो । आफूबाट विभाजन भएर गएको चन्दको पार्टी अन्तिममा संशोधनवादमा गएर टुङ्गिने उहाँको भनाइ थियो । सो अवसरमा महासचिव रामबहादुर थापाले तत्काल क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने कार्ययोजना र कार्यनीति तयार गर्न भेला सफल भएको बताउँदै जिल्लामा गएर सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । एकसय ५१ केन्द्रीय सदस्यमध्ये करिब ६० जना चन्दको पक्षमा गएपछि रिक्त रहेको सो पदमा थप गरिनुपर्ने प्रस्ताव भेलामा राखिएपछि सहभागीले असहमति राखेका थिए । भेलामा सहभागी अधिकांशले केन्द्रीय सदस्य विस्तार गर्न नहुने धारणा राखेपछि सो विषय टुङ्गाउने जिम्मा केन्द्रीय समितिलाई दिइएको छ । भेलामा ८०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता थिए ।