वैद्यको स्वास्थ्य बुझ्न पुगे विभिन्न दलका शीर्ष नेता नर्भिकमा
श्वासप्रश्वासमा समस्या देखिएपछि अपस्ताल भर्ना हुनुभएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई विभिन्न दलका शीर्ष नेताले भेटी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पमकल दाहाल तथा नेताहरू जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री वामदेव गौतम, माओवादीका उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देवप्रसाद गुरुङलगायत नेता अध्यक्ष वैद्य उपचाररत नर्भिक अस्पतालमा पुग्नुभएको थियो । दलको राष्ट्रिय भेला सकिएलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ वैद्यलाई अस्पताल भर्ना गरिएको थियो । अध्यक्ष वैद्यलाई रुघाखोकी, ज्वरो आउनाका साथै दम बढेको र निमोनियाको लक्षणसमेत देखिएको छ । स्वास्थ्यमा सुधार आएपनि उहाँलाई एक दुई दिन अस्पतालमै भर्ना गर्नुपर्ने चिकित्सकले बताएको अध्यक्ष वैद्यका सहयोगी अरुण उपाध्यायले जानकारी दिनुभयो ।