संविधानसभाध्यक्षले अधिकार क्षेत्रभन्दा बाहिर गएर संविधान बनाउने अधिकार मागेको एमाओवादीको आरोप


dinanathएकीकृत नेकपा (माओवादी)ले सबै नियमावलीलाई खारेज गरी संविधानको मस्यौदा आफैं ल्याउँछु भन्ने सभामुख सुवास नेम्वाङको भनाइ आपत्तिजनक भएको टिप्पणी गरेको छ । प्रवक्ता दीनानाथ शर्माले सभामुख नेम्वाङको प्रस्ताव र अभिव्यक्ति पूर्णत गलत भएको बताउनुभयो । उहाँले सभामुख नेम्वाङको भूमिका सबै राजनीतिक दलहरुको बीचमा समन्वय गर्ने र सहमतिको अन्तिमसम्म प्रयास गराउने रहेको बताउँदै संविधानसभा व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावलीका धाराहरुलाई खारेज गरेर आफ्नो हातमा अधिकार लिएर संविधान बनाउँछु भन्नु लोकतन्त्रको खिल्ली उडाउनु मात्रै भएको बताउनुभयो । लोकतान्त्रिक विधि र मान्यता विपरीत तथा योजनाबध्द रुपमा आएको अभिव्यक्तिलाई स्वीकार गर्न सकिँदैन, संविधानसभाको अध्यक्षको पद मर्यादित पद भएकाले यसको गरिमा कायम राख्न प्रवक्ता शर्माले सभामुखलाई आग्रह गर्नुभयो । प्रवक्ता शर्माले एक थान संविधानले नेपाली जनताको हित नगर्ने भएकाले त्यसमा सबै वर्ग, क्षेत्रको अधिकार समेटिन्छ कि समेटिँदैन भन्ने प्रश्न नै अहम् रहेको उल्लेख गर्नुभयो । आफ्नो पार्टीले राजनीतिक सहमतिको आधारमा संविधान निर्माण गर्न चाहेको स्पष्ट पार्दै उहाँले सबै जातजाति, क्षेत्र, लिङ्गका जनताको अधिकार सुनिश्चित हुने र दीर्घकालसम्मका लागि अपनत्व हुने मूल कानुनको जरुरी रहेको तर्क गर्नुभयो । प्रवक्ता शर्माले माओवादीलाई दोष लगाएर माघ ८ गते टार्ने सत्तारुढ दलको प्रयत्न सतहमा देखिएकोले आफूहरु आन्दोलनमा जानु परेको धारणा पनि व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?