नेपाल प्रहरीलाई सफलता, तत्कालीन न्यायाधीश बमको हत्यामा संलग्न पाँचमध्ये चार पक्राउ, एकजना साउदी अरबमा


अदालतको निर्णयमा चित्त नबुझेका कारण सफाया गर्ने योजना बनेको खुलासा
??????????????????????????????सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न पाँचजनामध्ये चारलाई पक्राउ गरी नेपाल प्रहरीले ऐतिहासिक सफलता हात लगाएको छ । बङ्गालामुखी मन्दिरमा दर्शन गरी सर्वाेच्च अदालत फर्किने क्रममा न्यायाधीश बममाथि २०६९ जेठ १८ गते बिहान ११ बजे ललितपुर उपमहानगरपालिका–३४ स्थित शङ्खमूलमा गोली हानी हत्या भएकोे थियो । गोली हान्न संलग्न बाबु थापा भनिने मेघबहादुर थापा, शिव भन्ने करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का र दीपक कर्णलाई दुई वर्ष सात महिनापछि प्रहरीले शुक्रबार पक्राउ गर्न सफल भएकोे थियो । सोही हत्यामा संलग्न सञ्जय इस्लामी मगर साउदी अरबमा रहेकाले पक्राउ गर्न नसकिएको र इन्टरपोलमार्फत वारेन्ट जारी गरिएको प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भन्नुभयो–“नेपाल प्रहरीलाई आजको दिन घाँटीमा अड्केको काँडा निकालेको जस्तो भएको छ, हामी जुनसुकै आपराधिक कार्यको खोजअनुसन्धान गर्न सक्षम छौँ भन्ने कुरालाई पुनः एकपटक प्रमाणित गरेका छौँ ।” पछिल्लो दशकमा भएका हत्या भन्ने सो हत्या सबैभन्दा ठूलो मानिएको थियो । यसको अनुसन्धानमा प्रहरीले ठूलो जनशक्ति र स्रोतसाधन परिचालन गर्दै उच्च प्राथमिकताका साथ अनुसन्धान गरेको थियो । सर्लाही–४ मिलन चोक ढुङ्ग्रेका मुख्य योजनाकार भनिएका ३८ वर्षीय थापा, जनकपुरका चौधरी, सर्लाही हरिवन–५ का नयाँ रोडका खड्का र जनकपुरका दीपक कर्णलाई प्रहरीले सार्वजनिकसमेत गरेको छ । अनुसन्धान कार्यमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोसहित महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी, अपराध महाशाखा हनुमान ढोका, मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडा संलग्न रहेका थिए । सो घटना अनुसन्धानका लागि तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक कुवेरसिंह राना अध्यक्षतामा प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल, प्रहरी वरिष्ठ उपरीक्षकहरू देवेन्द्र सुवेदी, सुबोध घिमिरे र राजेन्द्रमान श्रेष्ठको समिति गठन भएको थियो । पत्रकारसम्मेलनमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्लले मानवीय, प्राविधिक, घटनास्थलको विश्लेषण, सबुद प्रमाण, सामाजिक सञ्जालका सूचनालगायतका आधारमा ती अभियुक्तलाई पक्राउ गर्न सकिएको हो भन्नुभयो ।
हत्याका कारण
चुरे भावर एकता पार्टीका अध्यक्ष केशव मैनालीसँग पार्टीका उपाध्यक्षसमेत रहेका बाबु थापाको तत्कालीन अवस्थामा विवाद रहेको, पार्टीको नेतृत्व कसको रहने भन्ने विषयमा बाबु थापा निर्वाचन आयोगमा गएको, आयोगले मिलापत्र गराउँदा मैनाली नै पार्टीको अध्यक्ष रहेको, पछि २०६६ जेठ २७, २८ र २९ गते दुवै पक्षले अलगअलग स्थानमा पार्टीको महाधिवेशन सम्पन्न गरेको पुनः विवाद भई निर्वाचन आयोगमा गएको र आयोगले बाबु थापाको नेतृत्वको समूहलाई आधिकारिता दिएको पत्रकारसम्मेलनमा जानकारी दिइएको थियो । निर्वाचन आयोगको निर्णयमा चित्त नबुझी केशव मैनाली सर्वाेच्च अदालतमा गएको र तत्कालीन न्यायाधीश रणबहादुर बमको एकल इजलासले निर्वाचन आयोगले दिएको निर्णय बदर गरी पुरानै नेतृत्वलाई निरन्तरता दिन आदेश दिएको थियो । पछि बाबु थापालाई सो आदेश चित्त नबुझी न्यायाधीशको हत्या योजना बनाएको प्रमुख मल्लले बताउनुभयो । बाबु थापाले नै नेपाली जनता स्वतन्त्र स्वाभिमान राष्ट्रिय पार्टी गठन गरी आफूविरुद्ध लाग्नेलाई सिध्याउने योजनाअनुरुप पहिलो लक्ष्य न्यायाधीशलाई नै छानी हत्या गरेको पत्रकारसम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ । बाबु थापाको योजनामा अन्य तीनजनाले मोटरसाइकलको प्रयोग गरी न्यायाधीश बममाथि गोली प्रहार गरेका थिए । पत्रकारसम्मेलनमा प्रहरी महानिरीक्षक अर्यालले अनुसन्धानमा उच्च व्यावसायिक क्षमता प्रयोग गरिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?