खोटाङमा विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने दुई पक्राउ
खोटाङमा एक विवाहित महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । स्थानीय २५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सुङ्देल–३ का ४० वर्षीय डिल्लीशेर राई र ३० वर्षीय राजन राई पक्राउ परेका हुन् । पीडित महिलाले इलाका प्रहरी कार्यालय बाक्सिलामा दिएको उजुरीका आधारमा उनीहरूलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहले बताउनुभयो । साहका अनुसार पक्राउ परेका उनीहरूको साथबाट अश्लिल शब्द बोलिएको अडियो रेकर्डसहित नोकिया मोबाइल बरामद गरिएको छ । घरमा सुतिरहेकी महिलालाई कोही नभएको मौकापारी आइतबार राति ११ बजेतिर ढोका फोरी करेसाबारीमा लगेर दुवैजनाले पालैपालो बलात्कार गरेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख छ । पक्राउ परेका दुवैजनाले मातेको सुरमा आफूहरूले गल्ती गरेको स्वीकारेको प्रहरीले जनाएको छ । बाक्सिला प्रहरीले काठ काट्दै गरेको अवस्थामा जङ्गलबाट पक्राउ गरेका उनीहरूलाई अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । उनीहरूविरुद्ध जबर्जस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिने मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।