लौन आफ्ना सन्तानलाई नेपाल चिनाईदेऊ


Headlineसिड्नी आइपुगेका अभिभावकहरुले गरे उदाहरणीय कार्य, पिकनिक आयोजना गरेर निम्ता दिए सन्तानलाई
अष्ट्रृेलियामा यतिबेला पढाईका निम्ति र कामको लागि आएका नेपालीहरुको संख्या हजारौं पुगेको छ । आधिकारिक तथ्यांक नभएपनि ६० हजारभन्दा बढी नेपाली अष्ट्रेलियामा रहेको बताईन्छ । यी नेपालीका अभिभावक आफ्ना सन्तानको प्रगति हेर्न यहाँ आइपुग्छन् । धेरैजसो छोरा वा छोरीको पढाईमा उपाधि प्राप्तीका बखत आउँछन् भने अन्य आफ्ना सन्तानको पनि सन्तान भएको बखत स्याहार्नका निम्ति, भावात्मक सहयोग दिनका लागि आइपुग्छन् । जब यहाँ आउँछन् तब उनीहरुले धेरैभन्दा धेरै सम्झने भनेकै नेपालमा रहँदाको आफ्नो वरिपरिको परिवेश । यहाँ व्यस्त सन्तानहरुको दैनिकीकाबीच उनीहरु छटपटाउन थाल्दछन् । र, उस्तै नसकिने भैइयो भन्दै फर्किने समय नआएपनि नेपालै फर्किन्छन् पनि । यस्तो हुनुको एकमात्र कारण एक्लोपना हो भन्न सकिन्छ । तर, कथा यस्तो मात्र छैन । सिड्नीको एसफिल्डमा रहेका अभिभावकहरुले आपूmहरुलाई एकताबद्ध मात्र बनाएनन् एउटा भव्य जमघट नै आयोजना गरेर अन्तरक्रियासहित रमाइलो गरे । विराटनगरका तुलसीप्रसाद अधिकारी, तनहुँका शंकरलाल राजभण्डारी, काठमाडौंका नरहरिप्रसाद गौतम र गोविन्द पोखरेल लगायतका अभिभावकहरु जब नजिकैको पार्कमा भेट हुन्थे र आफ्ना सुखदुःख साट्थे । यसक्रममा भेट हुनेको संख्या ४० भन्दा बढी पुग्योे । अनि योजना बन्यो जमघटको । कति छोराछोरी, ज्वाई बुहारीले बनाइदिएको योजना अनुसार मात्रै गर्ने, हामी आफैं केही कार्यक्रम गरौं र उनीहरुलाई निम्तो दिउँ बरु । यस्तै सल्लाहकाबीच आइतबार जमघट आयोजना भएको थियो । जहाँ बुबाआमाको यो कार्यको सन्तानहरुले खुलेरै प्रसंसा गरे । बार्बिक्यूसहितको पिकनिक आयोजना गरेका थिए अभिभावकहरुले । जमघटमा रहेकामध्ये जेष्ठ नागरिक भोजप्रसाद पंगेनीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन तुलसीप्रसाद अधिकारी र झलक ढुंगानाले गर्नुभएको थियो । पालैपालो आफ्नो परिवारसहित सबैका सामू उपस्थित भएर परिचय दिँदा र आफूलाई लागेका कुरा बताउन पाउँदा अभिभावकहरु निकै खुशी देखिन्थे । जेष्ठ नागरिकहरुलाई सबैभन्दा अचम्मित बनाएको रहेछ यहाँको सिष्टमले । आफैंले स्वीकार गरे उनीहरुले, हामी नेपालमा भएको भए चकलेट खाएर खोल बाटोमै फाल्थ्यौं तर यहाँ हामी खल्तीमा हाल्छौं र फोहर फाल्ने कन्टेनरमा लगेर हाल्छौं । यहाँ सिष्टम छ तर नेपालको जस्तो पारिवारिक संस्कृति र वतावरण छैन । यसैले यहाँको जस्तो सिष्टम अनि नेपालको जस्तो पारिवारिक, सामाजिक, सांस्कृतिक संरचना हुने हो भने स्वर्ग त्यही हुन्छ । आपूmहरुले जानेको कुरा नेपालमा एक जनालाई मात्रै सिकाउन पाएपनि देशको भलो हुने उनीहरुको निष्कर्श थियो । नेपालका विभिन्न जिल्लाबाट विभिन्न फरक समयमा आएपनि यहाँ आएर एकताबद्ध हुँदै आफ्ना दूःखसुखका क्षण साट्न पाउँदा निकै खुशी लागेको उनीहरु बताइरहेका थिए । र, यो सम्पर्क नेपालसम्मै पनि कायम राख्ने अठोट देखिन्थ्यो । कार्यक्रममा महिलाहरु पनि सक्रिय सहभागी थिए । पोखराकी तिलकुमारी कार्कीले समान सहभागिताको कुरा अष्ट्रेलियाबाट नेपाली सबैले सिक्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांश सन्तानहरुले आपूmहरुले गर्ने काम बुबाआमाले गर्दा गर्व महसूस भएको मात्र बताएनन् बाबुआमाले दिएको संस्कारकै कारण आपूmहरु यहाँसम्म आइपुगेको तर यही संस्कार आफ्ना सन्तानलाई दिन सकिन्छ कि सकिन्न आशंका व्यक्त गरे । अभिभावकहरुको आग्रह थियो, कम्तिमा वर्षमा एक पटक भएपनि यहाँ जन्मिएका छोराछोरीलाई नेपाल देखाओ, यसले माया बढ्छ, नेपाल र नेपालीबारे चासो रहन्छ । समयमै नेपाल चिनाउन नसके भोलि यिनले तिमीहरुलाई पनि नचिन्न सक्छन् ।

तस्वीरको लागि एमएनटिभीको फेसबुक पेज हेर्नुहोला

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?