भारतमा हिजडा पहिलोपटक मेयर बनिन्


Indian eunuchs dance at a rally in Panduah, near Calcuttaभारतको मध्यभागमा एक तल्लो जातिका हिजडा नागरिक निर्वाचनमा विजय हासिल गरी मुलुकमा पहिलो पटक मेयर बनेको घोषणा गरिएको छ । छत्तीसगढ राज्यको राइगढमा नगरपालिकाको निर्वाचनमा मधुबाई किन्नरले विजय हासिल गरेको र उनले प्रधानमन्त्री नरेन्द्र मोदीका भारतीय जनता पार्टीका प्रतिद्वन्द्वीलाई चार हजार ५०० भन्दा बढी मतले पराजित गरिदिएको जानकारी राज्यको निर्वाचन आयोगले उल्लेख गरेको छ । टेलिभिजन च्यानलहरूले ३५ वर्षीया यी किन्नरलाई सारीमा उनका समर्थकहरूले फूलका माला लगाइदिँदै गरेको अवस्थामा देखाएका छन् । किन्नर दलित जातका सदस्य हुन् र यसलाई भारतमा पहिले अछूत मानिन्थ्यो । उनले जीविकाका लागि रेलमा नाचगान गर्ने गरेको प्रेस ट्रस्ट अफ इन्डियाले जानकारी दिएको छ । उनलाई आफ्नो समुदायको प्रतिनिधित्व गर्न आग्रह गरिएपछि उनले यो काम बन्द गरेको जानकारी दिइएको छ । निर्वाचनमा विजय हासिल गरेपछि किन्नरले पत्रकारहरूलाई जनताले आफूमाथि विश्वास गरेको, यस विजयलाई जनताले आफूलाई दिएको मायाँ ठानेको र आफूले पनि जनताको सपना पूरा गर्न आफ्नो सबै प्रयास लगाउने बताइन् । भारतको सर्वोच्च अदालतले हिजडालाई लिङ्गविहीनको रूपमा स्वीकार गर्न आदेश दिएको नौ महिनापछि किन्नरले यो विजय हासिल गरेकी हुन् । दक्षिण एसियामा हिजडालाई आफू जन्मेको लिङ्ग छोडी अर्को लिङ्गमा आफूलाई परिणत गर्ने व्यक्तिको रूपमा हेर्ने गरिन्छ । सांस्कृतिक रूपमा परम्परावादी समाज भारतमा हिजडा निकै कठिन अवस्थामा बाँच्ने गर्छन् र कहिले काँही उनीहरूले माग्ने वा वेश्यावृत्ति गर्ने जस्तो काम गर्नुपर्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?