इबोलाले मृत्यु हुने आठ हजार नाघ्यो, २० हजारभन्दा बढी संक्रमित
इबोला सङ्क्रमणका कारण विश्वमा मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ हजार नाघेको छ ।विशेषगरी पश्चिम र मध्य अफ्रिकी राष्ट्रहरुमा यसको सङ्क्रमण बढेको छ । सो सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या आठ हजार २३५ पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार सो सङ्क्रमणबाट २० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए । सो जानकारी विश्व स्वास्थ्य सङ्गठनले बुधबार जनाएको छ । मृत्यु हुनेमा अधिकांश नागरिक सियरालियोन, लाइबेरिया र गुएनाका रहेका छन् । साथै एकजना संयुक्त राज्य अमेरिका, छ जना माली, आठजना नाइजेरियाली नागरिकको पनि यसको सङ्क्रमणबाट ज्यान गएको विश्व स्वस्थ्य सङ्गठनले जनाएको छ । उक्त संस्थाले इबोलाको सङ्क्रमण कम भएको भएपनि यसबाट विश्व खतरामुक्त भने नभएको जनाएको छ ।