नयाँदिल्लीमा चुनावी रन्को, मोदीले भने केजरीवाल झुठका मास्टर
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टीका नेता अरबिन्द केजरीवाललाई झुठका मास्टर भन्नुभएको छ । उहाँले आम आदमी पार्टीका नेता केजरीवालले झुठमात्र बोल्ने भन्दै उहाँमाथि सो आरोप लगाउनुभएको छ । प्रधानमन्त्री मोदीले भारतीय राजनीतिमा केजरीवाल झुठको मास्टरका रुपमा चिनिएको आरोप लगाउनुभयो । उहाँले भारतीय राजधानी नयाँ दिल्लीमा स्थानीय निर्वााचनका लागि अभियानको सुरुवात गर्दै सो धारणा राख्नुभएको बताइएको छ । प्रधानमन्त्री मोदीले शनिबार भारतीय जनता पार्टीका तर्फबाट नयाँ दिल्लीमा निर्वाचन अभियान सुरु गर्नुभएको छ । सोही क्रममा उहाँ आम आदमी पार्टीप्रति खनिनुभएको बताइएको छ । कतिपय राजनीतिज्ञले उनलाई अराजक व्यक्तिका रुपमा पनि विश्लेषण गर्ने गरेको मैले पाएको छु, भन्दै उहाँले भन्नुभयो– यस्ता व्यक्ति त जङ्गल गएहुन्छ र माओवादीको सङ्गत गरेपनि हुन्छ । उहाँले यो निकै नै आक्रोषमा अरबिन्द केजरीवाललाई आक्रमण गर्नुभएको समाचारमा जनाइएको छ । केजरीवाल आम आदमी पार्टीका प्रमुख हुन् । यसअघिको निर्वाचनमा उहाँले नयाँ दिल्लीमा सरकार नै गठन गर्नुभएको थियो । यद्यपि उहाँको दलले स्पष्ट बहुमत भने हातपार्न सकेको थिएन । आम आदमीले सबैभन्दा ठूलो दलका रुपमा सरकार बनाएको थियो । मुख्यमन्त्रीका रुपमा रहनुभएका केजरीवालले राजिनामा दिएपछि नयाँ दिल्ली राज्यमा राष्ट्रपतीय शासन लगाइएको छ । करिब छ महिनादेखि त्यहाँ राष्ट्रपतीय शासन छ । स्थानीय निकायको निर्वाचनमा पनि भारतीय जनता पार्टीले जित हातपार्ने जस्तो देखिएको छ । पहिला विधान सभाको निर्वाचनमा सो राज्यमा भारतीय जनता पार्टी दोस्रो स्थानमा रहेको थियो । यसअघि भारतीय जनता पार्टीले भारतका विभिन्न राज्यमा स्थानीय निकायको निर्वाचनमा पनि विजय भएको छ । नयाँ दिल्लीमा विगत लामो समयदेखि प्रभाव रहेको भारतीय काँग्रेसले भने गत वर्षसम्पन्न आम निर्वाचनमा व्यापक मात्रामा पराजय भोगेको छ । त्यस्तै अवस्था अबको स्थानीय निर्वाचनमा पनि हुनसक्ने अनुमान गरिएको छ । तर कतिपयले नयाँ दिल्लीमा भारतीय जनता पार्टीको चुनौतीका रुपमा अझैपनि आम आदमी पार्टी रहेको अनुमान गरेका छन् । आम आदमी पार्टी भारतमा कान्छो पार्टी हो र उसले विशेषगरी सूचनाको हकको कार्यान्वयनमा कामगर्ने अधिकारवादीहरुको अभियानबाट देशमा भ्रष्टाचार विरोधी अभियान सुुरुगरी लोकप्रियता कमाएको हो ।