पुस २९ गतेसम्म पनि सहमति नभए प्रक्रियामै गएर संविधान जारी गर्नुपर्ने एमाले अध्यक्ष ओलीको भनाई, ओलीले गर्दा सहमति नभएको शर्माको आरोप
नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पुस २९ गतेसम्म पनि दलहरुबीच सहमति हुन नसके प्रक्रियामै गएर संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहमतिका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पुनः छलफल लागि लगिएको र आलटाल नगरी सहमति नभए प्रक्रियामै गएर भए पनि माघ ८ मै संविधान जारी गर्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “मुलुकलाई असफलताको बिन्दुमा लैजानु हुँदैन, सहमति नभए प्रक्रियामै गएर संविधान जारी गर्नुपर्छ, त्यसका लागि संविधान, नियम, नियमावली र कानुनअनुसार चल्नुपर्छ ।” सहमतिका लागि पार्टी हदैसम्म लचिलो छ, सहमतिका निम्ति कुरा गर्दागर्दै बालुवाटार बैठकमा मधेसी मोर्चाका साथीहरु विरोध गर्दै बिनाकारण बैठकबाट बाहिरिएको भन्दै सहमतिमा आउन उहाँले आग्रह गर्नुभयो । सत्ता मोहमा भन्दा पनि आफ्नो पूरै ध्यान निर्धारित मितिमै संविधान जारी गर्ने भएको भन्दै उहाँले भन्नुभयो, “जेल पर्दा त बाहिर निस्कन मलाई हतार भएन, अहिले पनि सत्ता मोहको मलाई हतार छैन ।” पार्टीका नेता माधवकुमार नेपालले सहमति भए वा नभए पनि माघ ८ मै संविधान जारी गर्न अझै समय पुग्ने भन्दै सहमतिमा आउन सबैलाई आग्रह गर्नुभयो । एमालले संविधान लेखनको विकासक्रम सम्बन्धमा पार्टीको दृष्टिकोण स्पष्ट गर्न र पार्टीका अडान सार्वजनिक गर्न जारी गरिएको विज्ञप्ति पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले वाचन गर्दै एमालले माघ ८ को ‘आतङ्क’ सिर्जना गरेको, निर्धारित मितिमा संविधान नआए ‘आकाश खस्दैन’, एमालेलाई सरकार परिवर्तनको हतारजस्तो कुराहरु जनमतको अबमूल्यन र आफ्नो प्रतिबद्धताको उपहास गरेको बताउनुभयो । विज्ञप्तिमा समयमै संविधान जारी गर्नका लागि अन्तिम विकल्पको रुपमा अघि सारिएको प्रक्रिया र दुई तिहाइ बहुमतको विषयलाई लिएर सदनभित्रै ‘रगतको खोलो बगाउने’, अर्को युद्धका लागि तयार हुन’ जस्ता धम्की दिने कार्य आपत्तिजनक नभएर अस्वीकार्य भएको उल्लेख गरिएको छ । सङ्घीयताले राज्यलाई अझ सबल र सुदृढ गरी बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक र भौगोलिक विविधतायुक्त समाजमा सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रियतालाई बलियो बनाउने हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
एकीकृत नेकपा ९माओवादी०ले प्रमुख राजनीतिक दलबीच संविधानका विवादित विषयमा छलफल चलिरहेको बेला नेकपा९एमाले०का अध्यक्षका कारण वातावरण भाँडिएको आरोप लगाएको छ । ‘‘संविधान निर्माण नहोस् भन्ने ध्येयका साथ एमालेका अध्यक्ष ओली वातावरण भाड्दै हिँड्नुभएको छ । यसले दलहरुबीच समेत अविश्वासको वातावरण बनाएको छ’’ एमाओवादी प्रवक्ता दीनानाथ शर्माले भन्नुभयो । आफ्नो पार्टीको नेतृत्वमा रहेको ३० दलीय मोर्चा असाध्यै लचिलो भएर संविधानको अन्तरवस्तुमा सहमति जुटाउन लागेको तर्क गर्दै उहाँले शासकीय स्वरुप र सङ्घीयताका विभिन्न विकल्पका बारेमा छलफल गर्न तयार रहेको जानकारी गराउनुभयो । उहाँले माघ ८ गतेभित्र पूर्णरुपमा संविधान नबने पनि सहमतिको वातावरण बने त्यो महत्वपूर्ण विषय भएको बताउनुभयो । संविधान घोषणा गर्नेभन्दा पनि अन्तरवस्तुमा सहमति गर्ने कुरा ठूलो भएको उहाँको धारणा थियो । उहाँले संविधानसभाबाट संविधान नबनाइ बल र बहुमतको आधारमा बनाउने कुरा आएकाले त्यसका विरुद्ध आन्दोलन गर्नुपरेको तर्क गर्नुभयो ।