संविधान जारी गर्नुपूर्व महिलाहरुले बुझाए प्रधानमन्त्रीलाई १२ बुँदे माग, विन विनको अवस्था रहने आश्वासन
प्रधानमन्त्री सुशील कोइरालासँग विभिन्न राजनीतिक दलसँग आबद्ध १० वटा महिला सङ्घका प्रतिनिधिहरूले प्रधानमन्त्री निवास बालुवाटारमा भेटगरी भावी संविधानमा समावेश हुनुपर्ने विभिन्न १२ बँुदे माग हस्तान्तरण गरेका छन् । संविधानको प्रस्तावना महिला मैत्री हुनुपर्ने, अंश र वंशको अधिकार मौलिक अधिकारमा हुुनुपर्ने, आमाको नामबाट नागरिकता वितरणको प्रावधान राखिनुपर्ने रोजगारीको प्रत्याभूति हुनुपर्नेलगायतका माग रहेका छन् । विभिन्न चरणमा गरिएका ऐतिहासिक सहमतिहरूको मूल भावना विपरीत हुनेगरी संविधान जारी नगर्न पनि प्रतिनिधिमण्डलले प्रधानमन्त्री कोइरालालाई ध्यानाकर्षण गराएको महिला नेत्री शशि श्रेष्ठले जानकारी दिनुभयो । यसरी ध्यानाकर्षण गराउने विभिन्न राजनीतिक दलसित आबद्ध महिला सङ्घ एवम् पूर्व सांसद मञ्चका प्रतिनिधि हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि दलहरूका बीचमा सहमति कायम गर्न छलफल जारी रहेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “नयाँ संविधानमा सबै वर्ग, क्षेत्र र समुदायको विन विन अवस्था रहन्छ कसैको अधिकार कटौती हुन्न ।”