नेपालको प्रजातन्त्र र विकासका निम्ति राष्ट्र सङ्घको सधैँ सद्भाव रहन्छ : फेल्टम्यान
नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले नेपालको प्रजतन्त्रको दिगो विकास र एवम् सुदृढीकरणमा संयुक्त राष्ट्र सङ्घको सधैँ सद्भाव रहने बताउनुभएको छ । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग अपराह्न उहाँकै कार्यकक्षमा भएको द्विपक्षीय भेटवार्तामा उपमहासचिव फेल्टम्यानले नेपालको गणतन्त्र, स्वतन्त्रता र सर्वभौमिकतासहित सबै नेपालीको भावना समेट्ने गरी नयाँ संविधान निर्धारित मितिमा नै जारी होस् भन्ने राष्ट्र सङ्घको चाहना रहेको बताउनुभयो । मन्त्री पाण्डेले आफूहरूबीच संविधान लेखनका सन्दर्भमा हालसम्म भएका प्रगतिका साथै प्रजातान्त्रिक पद्धतिबाटै संविधान निर्माण गरेर नेपाललाई शान्ति र समृद्धिको मार्गमा अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी आफूले उपमहासचिव फेल्टम्यानलाई गराएको बताउनुभयो । “नेपाली जनताका प्रतिनिधिले जनआकांक्षाअनुसार संविधान बनाउने र त्यस निम्ति वर्तमान संविधानसभा क्रियाशील रहेको मैले अवगत गराएँ,” उपमहासचिवसँगको छलफलका विषय प्रष्टाउँदै उहाँले भन्नुभयो । एक प्रश्नको जवाफमा मन्त्री पाण्डेले शान्ति सेनामा सहभागी भएर विश्वका विभिन्न भागमा शान्ति स्थापनामा नेपालको लामो समयदेखि योगदान रहेको स्मरण गराउँदै आफूले नीति निर्माणका तहमा पनि नेपाललाई उचित स्थान उपलब्ध हुनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो । माघ ८ भित्र संविधान जारी गर्ने सन्दर्भमा विपक्षी दलहरूसँग हुने सहमति र समझदारीका बारेमा पनि आफूहरूबीच छलफल भएको जानकारी दिँदै “समझदारीका विभिन्न तह हुन्छन् सम्भव भएसम्म सहमति र समझदारी कायम गरेर अघि बढ्ने पक्षमा छौँ” उपमहासचिवलाई जानकारी गराएको प्रसङ्ग कोट्याउँदै मन्त्री पाण्डले भन्नुभयो । पूर्ण समझदारी कही पनि हुँदैन भन्ने वास्तविकता स्वीकार गर्दै उपमहासचिव फेल्टम्यानले राष्ट्र सङ्घमा राजनीतिक मामिला हेर्ने अघिकारी भएका नाताले राजनीतिकरूपमा नेपालको उज्ज्वल भविष्यको कामना गर्नुभएको मन्त्री पाण्डेले बताउनुभयो । यसैबीच, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग अपराह्न उपमहासचिव फेल्टम्यानले उहाँकै कार्यकक्षमा शिष्टाचार भेट गर्नुभयो ।त्यसअवसरमा उहाँहरूबीच संविधान निर्माण प्रक्रिया, प्रगति र कार्ययोजनालगायत विविध पक्षमा कुराकानी भएको थियो । यसैगरी प्रधानसेनापति गौरवशम्शेर जबरा र उपमहासचिव फेल्टम्यानबीच आजै सैनिक मुख्यालयमा भेटवार्ता भयो । उक्त अवसरमा प्रधानसेनापति राणाले संयुक्त राष्ट्र सङ्घले नेपाली सेनालाई विश्वास गर्दै अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि राष्ट्र सङ्घको छातामुनि रहेर समग्र मानव जातिको हितका लागि कार्य गर्ने मौका उपलब्ध गराएकामा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको नेपाली सेनाले जनाएको छ । उपमहासचिव फेल्टम्यानले द्वन्द्वग्रस्त मुलुकको सङ्कटको समयमा र राष्ट्र सङ्घलाई फौज तैनाथीको आवश्यकता परेका बेला राष्ट्र सङ्घको अनुरोधमा फौज खटाई शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।