संवाद जारी राख्दै थप जनपरिचालन गर्ने मोर्चाको निर्णय, सभामुखलाई मर्यादा ख्याल राख्न आग्रह
एकीकृत नेकपा(माओवादी) नेतृत्वको तीसदलीय मोर्चाले सहमतिका आधारमा संविधान जारी गर्नका लागि थप जनपरिचालन गर्ने भएको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमासाँझ बसेको बैठकले वार्ता र संवादको प्रक्रियालाई जारी राख्दै शान्तिपूर्ण जनपरिचालन गर्ने निर्णय गरेको सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मोर्चाले संविधानसभाका अध्यक्षलाई संविधानसभाको बैठक स्थगन गर्न आग्रह गरिए पनि आफूहरूको अनुरोधलाई अस्वीकार गरेको भनी आपत्ति प्रकट गर्दै पदीय मर्यादालाई ख्याल गर्न ध्यानाकर्षण गराएको छ । ‘‘सभामुख कुनै एउटा राजनीतिक दलको नेता नहुने भए पनि सत्तारुढ दलको आग्रहअनुसार चलेको पाइएकाले आगामी दिनमा सबै दलको भावनालाई सम्मान गर्न बैठकले ध्यानाकर्षण गराएको छ’’ श्रेष्ठले भन्नुभयो । यस्तै शान्तिपूर्ण धर्ना तथा जुलुसमा उत्रिएका मोर्चाका नेता तथा कार्यकर्तामाथि सरकारले अनावश्यक बल प्रयोग गरेको भन्दै पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । बैठकले जनपरिचालनमा संयुक्त रूपमा अगाडि बढ्न नेकपा–माओवादीलाई आग्रह गरेको छ । बैठकमा मोर्चाका संयोजक पुष्पकमल दाहालले सरकारमा रहेका दल सहमतिमा भन्दा पनि बहुमतका आधारमा अगाडि बढ्न खोजेको भन्दै जनपरिचालनलाई जोड दिनुपर्ने धारणा राख्नुभएको श्रेष्ठको भनाइ छ ।