प्रधानमन्त्री कोइराला र उपमहासचिव फेल्टम्यानबीच भेटवार्ता, राष्ट्रपतिसँग पनि शिष्टाचार भेट
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा फेल्टम्यानले नेपालमा राजनीतिक दलहरूबीचको सहमति, सम्झौता र मुलुकको वृहत्तर हितअनुसार संविधान निर्माण भैरहेको आफूले विभिन्न नेताहरूसँगको भेटमा जानकारी पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै उहाँले नेपालमा समय मै संविधान बनोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो । सो भेटमा प्रधानमन्त्री कोइरालाले सहमित कै प्रक्रियाबाट राजनीतिक दलहरू यहाँसम्म आइपुगेको जानकारी गराउँदै लोकतान्त्रिक प्रक्रिया र जनमतअनुसार नै बृहत्तररुपमा संविधान बनाउन लाग्ने बताउनुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो ।
यसपछि राष्ट्रपति डा रामवरण यादवसँग संयुक्त राष्ट्रसङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपालको समसामयिक राजनीतिक अवस्था तथा राष्ट्रसङ्घीय शान्ति सेनामा रहेर नेपाली सेनाले निर्वाह गरेको भूमिकाबारे छलफल भएको थियो । राष्ट्रपतिसमक्ष उपमहासचिव फेल्टम्यानले महासचिव बान की मुनले निर्धारित समयमै संविधान जारी भएर नेपालको शान्ति प्रक्रिया टुङ्गियोस् भन्ने कामना गर्नुभएको सन्देश सुनाउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले नेपालप्रतिको सहयोग र समर्थन राष्ट्रसङ्घद्वारा भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता महासचिव बानकातर्फबाट जनाउनुभएको थियो ।भेटका अवसरमा राष्ट्रपतिका कानुनी सल्लाहकार डा सूर्य ढुङ्गेल, सोही कार्यालयका सचिव अनुपकुमार उपाध्याय, नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका आवासीय समन्वयकर्ता जिमी म्याकगोल्डरिकका साथै राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारीहरूको उपस्थिति रहेको थियो ।