लुम्बिनीलाई शान्ति क्षेत्र घोषणा गर्न माग, गौतमबुद्ध विमानस्थलको निर्माण बन्द हडतालबाट प्रभावित हुन नदिइने
विभिन्न पार्टी तथा समूहले गर्ने बन्द हडतालबाट विश्व सम्पदा सूचीमा सूचीकृत विश्व शान्तिको केन्द्र लुम्बिनीमा आउने पर्यटकलाई नराम्रो असर परेको महसुस गर्दै यहाँका जनताले लुम्बिनीलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग अघि सारेका छन् । बन्द हडतालका कारण पर्यटन क्षेत्र पूर्णरुपमा प्रभावित हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई नराम्रो असर परेको भन्दै यस क्षेत्रका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा लुम्बिनीवासीले लुम्बिनीलाई शान्ति क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । एक दिनको बन्दले मात्रै पाँचदेखि सात करोडसम्मको आर्थिक नोक्सानी हुने र पर्यटकको मनमतिष्कमा नकारात्मक छाप छोड्ने भएकाले लुम्बिनीलाई शान्ति क्षेत्रका रुपमा विकास गर्न व्यवसायीहरूले अग्रसरता देखाएका हुन् । बुद्ध जन्मस्थल लुम्बिनी आउने अधिकांश विदेशी पाहुना तथा पर्यटक शान्तिको खोजी गर्दै आउने हँुदा यस क्षेत्रलाई बन्द, हडताल र अशान्त वातावरणबाट टाढा राख्नुपर्ने लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिनुभयो । उहाँले लुम्बिनीलाई मात्रै भए पनि बन्द, हडताल, माछा, मासु र मदिराजन्य वस्तुबाट टाढा राख्नसके विश्वमाझ निकै राम्रो सन्देश प्रवाह हुनुका साथै नेपालको आर्थिक विकासमा समेत ठूलो टेवा पुग्ने बताउनुभयो । विश्वलाई चिनाउने एउटा सशक्त माध्यमका रुपमा रहेको लुम्बिनीलाई सबैको साझा शान्ति क्षेत्रका रुपमा विकास गर्न सकिए शान्ति प्रक्रियामा रहेको नेपालको साख विश्वमाझ अझै बढ्ने उहाँको विश्वास छ । सिद्धार्थ एसोसियसन अफ टुर एन्ड टाभल्स एजेन्ट (साट्टा)का अध्यक्ष सागर अधिकारीले लुम्बिनी क्षेत्रका होटल, पर्यटन व्यवसाय तथा भोलिदेखि निर्माण कार्य सुरु हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा अवरोध पुग्ने गरी बन्द हडताल नगर्न आग्रह गर्नुभयो । उहाँले विमानस्थलको निर्माण तथा अन्य गतिविधि अवरोध हुनेगरी कसैले बन्द हडताल गरे सम्पूर्ण पर्यटन व्यवसायी त्यसको प्रतिकारमा उत्रने तयारीमा रहेको बताउनुभयो । “राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा विश्व शान्तिको मुहान तथा पर्यटकीय क्षेत्र लुम्बिनीलाई शान्ति क्षेत्रका रुपमा विकास गरिनुपर्दछ,” अध्यक्ष अधिकारीले भन्नुभयो – एक दिनमात्रै बन्द हडताल भए यस क्षेत्रमा रु पाँच÷सात करोडको नोक्सानी हुने गर्दछ । लुम्बिनी अञ्चलमा ४० देखि ४५ को हाराहारीमा पर्यटन व्यवसाय छन् भने २५० भन्दा बढी होटल रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकासबाटै मुलुकको विकास सम्भव भएकाले पर्यटन क्षेत्रलाई कसैले पनि प्रभावित गर्न नहुने पर्यटन व्यवसायीको भनाइ छ । बन्द हडतालले पर्यटन क्षेत्रका साथसाथै होटलहरू पनि नराम्रोसँग प्रभावित भएको होटल व्यवसायी लीलामणि शर्माले उल्लेख गर्नुभयो । लुम्बिनी होटल एन्ड रेष्टुराँ एसोसियसनका सचिवसमेत रहनुभएका शर्माले विश्वमा शान्तिको मुहानका रुपमा परिचित लुम्बिनीलाई बन्द हडतालमुक्त गर्नसकिए त्यो उदाहरणीय कार्य हुने उल्लेख गर्नुभयो । लुम्बिनीमा मात्रै ५० भन्दा बढी होटल रहेका छन् । पर्यटक आउने यो याममा सबै होटल खचाखच हुने गर्दछन् तर बन्दका कारण पर्यटक आवागमन ठप्प हुँदा होटल, रेष्टुराँ, माला पसललगायतका सम्पूर्ण क्षेत्र प्रभावित हुने व्यवसायीको भनाइ छ । आफ्नो अधिकारका लागि बन्द हडताल गर्दा अरुको अधिकार खोसिएकाप्रति पनि बन्दकर्ताले ध्यान पु¥याउनसके बन्द हडताल नै नहुने उहाँको विश्वास छ । उहाँले बन्द हडताल गरेर समस्याको समाधान गर्नुभन्दा वार्ता र संवादबाट समाधान खोज्नसके राम्रो परिपाटीको विकास हुने उल्लेख गर्नुभयो । सन् २०१४ मा मात्रै लुम्बिनीमा १२ लाख पर्यटकले भ्रमण गरेका छन् । कोषले दिएको जानकारीअनुसार नौ लाख दुई हजार ६२१ आन्तरिक पर्यटक, एक लाख ५४ हजार २१६ भारतीय तथा एक लाख ३६ हजार ९९१ तेस्रो मुलुकका पर्यटकले लुम्बिनीको अवलोकन तथा भ्रमण गरेका हुन् । माघ १ गतेबाट निर्माण सुरु हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका तीन वर्È अर्थात डिसेम्बर २०१७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरह बनाइने भएको छ । चीनको नर्थवेस्ट सिभिल एभिएसन कर्पोरेसन समूहले सबैभन्दा कम मूल्यमा विमानस्थल निर्माण गर्ने जिम्मा पाएको छ । बोलपत्रअनुसार नर्थवेस्टले रु छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा विमानस्थलको निर्माण कार्य सम्पन्न गर्नेछ । अब निर्माण हुने विमानस्थलको धावनमार्ग तीन हजार मिटरको हुने छ भने वार्Èिक सात लाख ६० हजार हवाई यात्रुलाई थेग्ने गरी प्रथम चरणमा विमानस्थलको निर्माण गरिने भएको छ । प्रथम चरणमा विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टमिर्नल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य पेरिफेरि सडक, एअरकार्गो भवन, सुरÔा पोस्ट भवन, विमानस्थल सडक, घाघरा नदी डाइभर्सनलगायतका भौतिक निर्माणका कार्य हुनेछन् । यसअघि क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भनिएकामा अब यो विमानस्थल क्षेत्रीय नभई अन्तर्राष्ट्रियस्तरको बन्ने गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजना (जिबिए)का प्रमुख मुरारी भण्डारीले जानकारी दिनुभएको छ ।