अङ्क गणितीय आधारमा जबर्जस्ती संविधान जारी भए जनताले विद्रोह गर्ने एमाओवादी अध्यक्ष प्रचण्डको भनाई
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले अङ्क गणितीय आधारमा जबर्जस्ती संविधान जारी भए जनताले विद्रोह गर्ने चेतावनी दिनुभएको छ । नवघोषित सिरहाको गोलबजार नगरपालिकाको पहिलो नगरपरिषद्को उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले विगतको सम्भौता र अन्तरिम संविधानको भावनालाई लत्याएर अङ्क गणितीय आधारमा संविधान ल्याए उत्पीडित जनताले विद्रोह गर्ने बताउनुभयो । उहाँले विगतमा भएका जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको क्रममा भएका सहमति र सम्भौता तथा अन्तरिम संविधानको भावना विपरीत काँग्रेस र एमालेले दुई तिहाईको आडमा जबर्जस्ती संविधान जारी गर्न खोजेको छ । उहाँले भन्नुभयो–“त्यसो भए, जनता स्वतन्त्र छन्, उनीहरू जे पनि गर्न सक्छन्, अन्त्यमा आफ्नो अधिकारका लागि जनताले विद्रोहसमेत गर्न सक्छ ।” आन्दोलनका क्रममा सहमति गर्ने, सहमतिमै अन्तरिम संविधान जारी गर्ने तर अहिले आएर दुई तिहाईको दम्भमा ती सबै कुरालाई बिर्सेर वर्तमान सरकार र काँग्रेस, एमाले जबर्जस्ती संविधान जारी गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो । संविधान निर्माणको बल काँग्रेस र एमालेको कोर्टमा रहेको टिप्पणी गर्नुुहुँदै ३० दलीय मोर्चाका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले आफ्नो नेतृत्वको दलीय मोर्चाले भोलि काँग्रेस र एमालेसँग निर्णायक वार्ता गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–“मोर्चाको आज साँझ बैठक बसेर रणनीति बनाउने र भोलि संविधान निर्माणको सन्दर्भमा निर्णायक वार्ता गर्छाैं ।” भोलि नै निर्धारण हुन्छ कि मुलुक कुन दिशामा अघि बढ्छ उहाँको कथन थियो । मधेस आन्दोलनका क्रममा सम्झौता गर्ने काँग्रेस र एमालेका नेताहरू नै अहिले मधेस शब्द सुन्नै नचाहने र मधेसलाई युपी, विहार भनेर अपमान गरी होच्याउने गरेकोप्रति आपत्ति जनाउँदै उहाँले मधेसलाई हेप्ने अधिकार कसैसँग नभएको बताउनुभयो । संविधानसभाको दोस्रो निर्वाचनमा व्यापक धाँधली भएको उल्लेख गर्नुहुँदै उहाँले संविधानसभाको दोस्रो निर्वाचनमा कसरी काँग्रेस र एमाले ठूलो दल भयो भन्ने कुरा रहस्यपूर्ण रहेको बताउनुभयो । दोस्रो संविधानसभाको निर्वाचनमा भएको धाँधलीबारे आयोगले अध्ययन गरिरहेकाले प्रतिवेदन आएपछि यसबारे प्रस्ट हुने उहाँको कथन थियो । कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतोले परिवर्तनलाई संस्थागत गर्ने अवस्थामा काँग्रेस र एमालेले दुई तिहाईको दम्भमा षडयन्त्र गरी मधेसलाई अधिकारविहीन बनाउन खोजेको आरोप लगाउनुभयो । दुई तिहाईको धाँकधम्की दिएर परिवर्तनलाई समाप्त पार्ने प्रपञ्चमा वर्तमान सरकार र सत्तारुढ दलका लागि परेको बताउँदै मधेसलाई हेप्ने र होच्याउनेलाई मधेसले नछाड्ने चेतावनी दिनुभयो । कार्यक्रममा गोलबजार नगरपालिका कार्यकारी अधिकृत बलिराम यादवले अगामी आर्थिक वर्ष २०७२÷७३ का लागि रु. ६ करोड ४५ लाखको आयव्यय सार्वजनिक गर्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, कार्यालयका प्रमुख, सञ्चारकर्मी, नागरिक समाज, नागरिक वडा मञ्चका पदाधिकारीलगायतको सहभागिता थियो ।