संविधानसभामा छैटौँपटक संवाद तथा सहमति समितिको प्रतिवेदन पेस, प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम जारी


sambidhanसंविधानसभाको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानसभा नियमावली २०७० बमोजिम समितिको प्रतिवेदन २०७१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । संविधानसभामा छैटौँपटक छलफलका निम्ति उक्त प्रतिवेदन प्रस्तुत भएको छ । प्रतिवेदन प्रस्तुत गर्दै सभापति भट्टराईले राज्य शक्तिको बाँडफाँट, शासकीय स्वरुप, सङ्घीयता, न्याय र निर्वाचन प्रणाली र राज्यको पुनःसंरचनामा दलहरुबीच सहमतिको अधिक प्रयत्न गर्दा पनि सफलता हासिल नभएको दुखेसो गर्नुभयो र संविधानसभालाई नै आवश्यक निर्णय गर्न आग्रह गर्नुभयो । “दाउपेच होइन इमानदार भएर संविधान बनाउनैपर्छ, पारस्परिक समन्वय एवम् सहमति कायम गर्दै अग्रगमनको दिशामा देशलाई उन्मुख गराउँनैपर्छ” – माघ ८ गते संविधान जारी हुन नसक्नेतर्फ सङ्केत गर्दै उहाँले राजनीतिक एवम् नैतिक रुपमा नेतृत्वले त्यस निम्ति गम्भीर भएर प्रयत्न गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो । सहमति हुन नसकेका विषयवस्तुमा छलफल केन्द्रित हुनुपर्ने बताउँदै उहाँले नेतृत्व पङ्क्तिले कुखुराजस्तो तल खोस्रने होइन चील झैँ उचाईतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलको नभई देशको संविधान बनाउनुपर्ने उहाँको अभिमत थियो । नेपाली काँग्रेसका रामचन्द्र पौडेलले अब उक्त प्रतिवेदनलाई छलफलका लागि मस्यौदा समितिमा पठाउनुपर्ने र सहमतिको प्रयास पनि गर्दै जानुपर्ने आवश्यकता औँल्याउँदै संविधानसभाले तत्काल यसमाथि निर्णय गर्नुपर्ने बताउनुभयो । सङ्घीयतामा जातीयता जोडिएकाले सहमतिमा समस्या उत्पन्न भएको भन्दै उहाँले विदेशी शक्तिको चलखेल बढेकामा त्यसप्रति आपत्ति जनाउनुभयो । सहमतिका नाममा अनन्तकालसम्म अनिर्णयको बन्दी भएर बस्न नमिल्ने भन्दै उहाँले सहमतिसँगै प्रक्रियामा जानैपर्ने र सदन बहिस्कार गरेर हिँड्ने विपक्षी दल राष्ट्र र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो । नेकपा ९एमाले०का झलनाथ खनालले जातीय राज्य हुन नहुने, हिमाल, पहाड र तराईलाई पनि विभक्त गर्न नमिल्ने र राष्ट्रिय हितलाई सर्वोपरि मानेर सहमतिको प्रस्ताव तयार गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । आफ्नो दल मधेस विरोधी नरहेको र समृद्ध नेपाल निर्माण गर्न नेपाली जनताका प्रतिनिधिले कर्तव्यबोधका साथ अघि बढ्नुपर्ने बताउँदै उहाँले बन्द, हडतालजस्ता जनहितविरुद्धका गतिविधिमा नलाग्न विपक्षी दललाई आग्रह गर्नुभयो । सहमति, समझदारी र संवादको माध्यमबाटै गतिरोध अन्त्य गर्न सकिने भएकाले संविधानका निम्ति दलीय स्वार्थबाट मुक्त हुनुपर्ने उहाँको भनाइ थियो ।
एनेकपा ९माओवादी०का अग्निप्रसाद सापकोटाले विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी, मधेसी आन्दोलन, अन्तरिम संविधान २०६३, को मर्म र भावना बमोजिम सत्ता पक्षले काम नगरेकामा रोष प्रकट गर्दै जनताका अधिकार सुनिश्चित गर्ने प्रयत्न स्वरुप आफ्नो दलले पहिचानसहितको सङ्घीयताको माग गर्नु अनुचित नभएको तर्क गर्नुभयो । देशमा प्रतिमगनकारी सोच हाबी भएको आरोप लगाउँदै उहाँले विधि र प्रक्रियाभन्दा माथि जनताको मुक्ति महत्वपूर्ण भएकाले संविधानसभाले जनताका अधिकार खोस्ने प्रयास नगरोस् भन्ने माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९नेपाल० कमल थापाले नेपाली जनताप्रति गरिएको प्रतिबद्धता पूरा गर्न नसकिएकामा संविधानसभा र संवाद तथा सहमति समिति जिम्मेवार नरहेको बरु केही सीमित नेताका कारण आजको अवस्था आएको विचार व्यक्त गर्दै माघ ८ गते संविधान दिन नसक्ने शीर्ष नेतृत्वले आत्मालोचना गर्नुपर्ने बताउनुभयो । केही सीमित दलका सीमित नेताले सहमति निर्माणको प्रक्रियामा राप्रपा नेपाललाई अछुतको जस्तो व्यवहार गरेकामा आपत्ति जनाउनुभयो । उक्त प्रतिवदेनमाथिको छलफल जारी छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?