युगाण्डासँग नेपाल २ रनले पराजित, आज नेदरल्याण्डसँग दोस्रो खेल
नेपाललाई विश्व क्रिकेट लिग डिभिजन(२ मा पहिलो खेलमा निराशा हात लागेको छ । अन्तिम बलमा ३ रन बनाउनुपर्ने चुनौति पूरा गर्न नसक्दा नेपाल सजिलो प्रतिद्वन्द्वी मानिएको युगान्डासँग २ रनले पराजित भएको छ । अन्तिम बलमा बसन्त रेग्मी आउट भए । १ सय ४७ रनको लक्ष्य पछ्याएको नेपाली टोली निर्धारित ५० ओभर खेलेर १ सय ४४ रनमा अल आउट भयो । टस जितेर पहिलो ब्याटिङ रोजेको युगान्डालाई नेपाली बलरले निर्धारित ५० ओभरको १ बल अगाडि १ सय ४६ रनमा अलआउट गरेको थियो । सामान्य लक्ष्य लिएर ब्याटिङमा आएका नेपाली ब्याट्समान पनि युगान्डाका बलर अगाडि धेरै बेर टिक्न सकेनन् । सबैभन्दा बढी उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रन बनाए । सुवास खकुरेलले(३२ र नरेश बुढाऐर(१६ रन बनाएर क्रिजबाट बाहिरिए । अन्तिम बलमा आउट भएका बसन्त रेग्मी टिमका लागि १५ रन जोडे । कप्तान पारस खड्का, शरद भेस्वाकर र अविजित रहेका करन केसीले ५(५ रन मात्र जोडे । सोमपाल कामी(४ र बिनोद भण्डारी(१ रन र सागर पुन खाता नखोली आउट भए ।
यसअघि, युगाण्डाले नेपालसामु १४७ रनको चुनौती दिएको थियो । यसअघि युगान्डाले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १४६ रनमा समेटिएको थियो । युगान्डालाई सस्तैमा समेट्न नेपालबाट कप्तान पारस खड्काले तीन, बसन्त रेग्मी र सोमपाल कामीले दुई र शक्ति गौचनले एक विकेट लिएका थिए । नामिबियाको विन्डोहोक मैदानमा दिउँसो १ बजेदेखि सुरु भएको खेलमा टस जितेर युगान्डाले नेपाललाई फिल्डिङको निम्तो दिएको थियो । नेपालको डिभिजन दुईमा यो दोस्रो सहभागिता हो । केही महिनाअघि मलेसियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन तीनको उपाधि चुम्दै नेपाल विजेता बनी तथा युगान्डा उपविजेता बन्दै डिभिजन दुईमा प्रवेश गरेका थिए । त्यस्तै यसअघि सन् २०१३ मा बर्मुडामा भएको डिभिजन तीनमा पनि नेपालले युगान्डालाई नै फाइनल खेलमा छ विकेटले हराउँदै च्याम्पियन बनेको थियो । अहिलेसम्म नेपाल र युगान्डा पाँचपटक भिडेका छन् जसमा नेपालका पक्षमा तीन र युगान्डाको पक्षमा दुई खेल छ । प्रतियोगितामा नेपालसहित युगान्डा, नेदरल्यान्ड, आयोजक नामिबिया, केन्या र क्यानडाले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आइसिसी विश्व लिग च्याम्पियनसिप र इन्टरकन्टिनेन्टल फोर डे प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछ । अर्को खेल आइतबार नेदरल्याण्डसँग हुँदैछ ।